इटहरीः विगत ३ वर्षदेखि आनाथ, असाहय, सडक मानव र परिवार गुमाएकाहरुको सहारा बन्दै आएको माया घर नेपालले आफ्नो जन्मोत्सव मनाउँदा ‘केक’ काट्ने प्रवृद्धि अन्त्य गर्न अनुरोध गरेको छ । २०७४ सालमा इटहरीका केहि जुझारु महिला मिलेर स्थापन गरेको माया घर इटहरीमा मात्रै हाल ४७ जना आश्रय विहिन भएकाले आश्रय लिइरहेका छन् । सोहि माया घरका अध्यक्ष राधिका दासि र सचिव सुभद्रा प्याकुरेलले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौति गरेर माया घरलाई सहयोग गर्न अनुरोध गरेका हुन् ।
अध्यक्ष दासिले एकपटक माया घर आउन सबैलाई अनुरोध गरिन् । ‘म चाहिँ सबैलाई एकपटक माया घर आइदिनुस् भन्न चाहन्छु । माया घरमा तपाईँ आउँदा मात्रै पनि हाम्रा छोराछोरीलाई खुशी मिल्छ । जुन अहिले केक काटेर जन्मदिन मनाउने बिकृति फैलिरहेको छ त्यसलाई छोडेर माया घरमा आएर मुस्कान साटासाट गरि जन्मदिन मनाउन सबैलाई म अनुरोध गर्छु’, उनले भनिन् । साथै उनले कोरोना महामारीको समयमा माया घरलाई थप समस्या परेकाले विभिन्न संघसंस्थालाई पनि सहयोगको लागि अपिल गरिन् ।
त्यस्तै माया घरकी सचिव प्याकुरेलले पनि माया घरलाई आफ्नै घर सम्झेर माया गर्न अनुरोध गरिन् । ‘तपाईँहरुले माया घरलाई त्यस्तो ठूलो केहि गर्नुपर्दैन । ३६५ दिन एक दिन हजुरहरुको जन्मदिन पर्छ त्यो दिन माया घरलाई दिनुहोस् । माया घरमा रहेका छोरा छोरीसँग आफ्नो जन्मदिनको खुशी साटासाट गर्नुहोस् । त्यस्तै हजुरहरुको बुबाआमाको नाम र सम्झनामा एक छाक खाना मात्रै सहयोग गर्नुभयो भने मात्रै पनि हामीलाई ठूलो राहत मिल्छ’, उनले भनिन् । साथै उनले माया घर एकपटक भ्रमण गर्न र सल्लाह–सुझाव दिन पनि अपिल गरिन् ।
माया घर नेपालको इटहरी, धरान र विराटनगरमा रहेको शाखामा हाल ११० जनाले आश्रय लिइरहेका छन् । ति मध्ये ९५ प्रतिशत मानषिक रोगि रहेका छन् । उनिहरुको औषधी उपचारमा मात्रै पनि धेरै खर्च हुने भएकाले माया घरलाई अहिले समस्या परेको हो । साथै लकडाउनेको समयले माया घरलाई थप समस्यामा पारेको छ ।