इटहरीः इटहरी उपमहानगरपालिकाले मुख्य चाडबाड आउने समयमा बजार अनुगमन शुरु गरेको छ । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा बिहीबार खाद्य सामग्री बेच्ने पसलहरूको मात्र अनुगमन गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार बमोजिम उपमहानगरपालिकाले अनुगमन शुरु गरेको हो । अनुगमनका क्रममा केही पसलहरूमा उपभोग्य म्याद नाघेका खाद्यपदार्थ समेत बेच्न राखेको पाइएको थियो ।
‘म्याद नाघेका जङ्क फुड, चिसो पेय पदार्थ विभिन्न पसलहरूमा बेच्न राखेको भेटिएको छ’, वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले भने, ‘कहिले बनेको, कहाँ बनेको र कहिलेसम्म उपभोग गर्न हुन्छ भन्ने उल्लेख नगरिएको सामान इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोरमा पनि भेटिएको थियो ।’
चौधरीले भने, ‘गोर्खा डिपार्टमेन्ट स्टोरले विभिन्न सामग्री बेच्दा लेबल नखुलाएको पाइयो । त्यसलाई सच्याउन हामीले भनेका छौँ ।’
खाद्यान्न मात्र होइन औषधीको रूपमा प्रयोग हुने ‘डेट एक्सपायर’ भएको सन्चो पनि अनुगमनको क्रममा फेला परेको थियो । ‘म्याद सकिएको एक झोला सन्चोसमेत फेला पा¥यौँ’, अनुगमन शाखाका प्रमुख विजय मगरले भने, ‘खाद्यान सङ्कलन गर्ने क्रममा हामीले औषधिका रूपमा प्रयोग हुने सन्चोसमेत फेला पारेकाले अनुसन्धान गरी कारबाही समेत गर्छाँै ।’
ऐनले स्थानीय कानुन बनाएर नगरपालिका क्षेत्रभित्रको बजारलाई अनुगमन गर्ने अधिकार दिएको छ । ऐनको दफा ११ को उपदफा २ को ञ मा बजारसम्बन्धी विभिन्न १८ वटा बुँदामा स्थानीय कानुन बनाएर स्थानीय बजारको व्यवस्थापन गर्न सक्ने अधिकार दिइएको हो । उपप्रमुख गौतमले भनिन्, ‘ऐनले दिएको अधिकारको प्रयोग गर्दै हामीले स्थानीय बजार अनुगमन नियमावली बनाएर बजार निरीक्षण गरेका हौँ ।’
नियमावलीमा व्यवस्था भएबमोजिम उपभोक्ता हित संरक्षण समिति र बजार अनुगमन समिति समेत गठन गरिएको हो ।
अनुगमनका क्रममा मिसावटयुक्त र म्याद नाघेका खाद्य पदार्थ पनि बेच्न राखेको पाइएकाले उपमहानगरले कानुनबमोजिम कारबाही गर्न सेम्पल परीक्षणका लागि विभिन्न खाद्यवस्तु ल्याएको जनाएको छ । ‘हामीले विभिन्न स्याम्पल ल्याएका छाँै,’ दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रमुख लक्ष्मी गौतमले भनिन्, ‘खाद्य पदार्थको परीक्षण गरेर कानुन बमोजिम कारबाहीको प्रक्रियामा अघि बढ्छौँ ।’
बजारमा कालोबजारी पाइए कानुनबमोजिम कारबाहीका लागि उद्योग वाणिज्य सङ्घले स्थानीय सरकारलाई सहयोग गर्ने उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले बताए । उनले गलत गतिविधि गर्ने व्यापारीलाई स्थानीय सरकारले कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
जिल्ला प्रशासन, प्रहरी, नापतौल तथा गुणस्तर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्तावादी संस्था र सञ्चारकर्मीहरू संलग्न टोलीले बजार अनुगमन गरेको हो । उपभोक्ता मञ्च इटहरीका सचिव डिल्ली दाहालले अब अनुगमनलाई तीव्रता दिएर उपभोक्ताको हितमा अघि बढ्ने बताए ।