इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १७ र १८ निर्माण गर्न सुरु गरिएको सडकको काम ठप्प भएको छ । प्रदेश सरकारको पुर्वधार विकास कोषबाट एक करोड र उपमहानगरपालिका र वडा कार्यालयको समेत गरेर एक करोड ४२ लाखमा निर्माण गर्न सम्झौता भइ निर्माण पनि सुरु भएको सडक ठेकेदार भागे पछि अस्तव्यस्त बनेको हो । अंकित कन्ट्रक्सनलाई बोलकबोल मार्फत ठेक्का लगाइएकोमा ठेकेदार नै १८ लाख लिएर फरार भएका छन् ।

सडक नबन्दा स्थानीयबासी मारमा परेका छन् । सडकको विभिन्न ठाउँमा ठूला ठूला खाडल परेका छन् । वर्खायाममा तथा पानी परेको समयमा सो सडकमा हातमा चप्पल बोकेर हिड्न् पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । स्थानीयले पटक पटक उपमहानगरपालिका र वडा कार्यालयलाई जानकारी दिँदा पनि कुनै वास्ता गरेको छैन् । न नयाँलाई ठेक्का दिएको छ न त ठेकेदारले लगेको १८ लाख नै फिर्ता ल्याउन सकेको छ ।

IMG_20201014_102924

इटहरी उपमहानगर मुकदर्शक

यसरी ठेकेदारको ब्रह्मलुट चल्दा पनि इटहरी उपमहानगर मुकदर्शक बनेको छ । उपमहानगरका प्रमुख द्धारीकालाल चौधरीको गृह वडामा रहेको सो सडक बन्न नसक्दा स्थानीय चौधरी प्रति आक्रोसित बनेका छ । इटहरी १७ का वडाध्यक्ष भगवानलाल साहले रोडको समस्या लिएर पटक पटक मेयरसँग कुरा गरेको तर मेयरको पनि केहि नचलेको बताउछन् ।

‘यो समस्या लिएर मैले मेयरसँग पटक पटक कुरा गरेको छु । उहाँले पनि ठेकेदारलाई ल्याउन प्रयास नगर्नु भएको भने होइन तर सक्नु भएन । लकडाउनको समयमा पनि ठेकेदारलाई लिन ३ पटक सम्म गाडि पठाइएको तर ल्याउन सकिएन’, उनले भने । साथै उनले यो सबै माथिबाटै हुँदै आएको परम्परा भएको बताएका छन् । ‘यो सब माथिल्लो सरकारको कम्जोरी हो । कुनै पनि ठाउँको ठेक्का लगाउँदा काम ढिला भए प्रत्यके वर्ष १० प्रतिशतले रकम थपिँदै जान्छ । त्यसैले हाम्रो माथिल्लो सरकारकै परिपाट ठिक छैन’, उनले भने । उनका अनुसार अब ठेकेदार नआए अर्कोलाई ठेक्का दिने र उसले धरौटी वापत राखेको रकमबाट १८ लाख असुली गरिने छ ।

यता इटहरीका मेयर चौधरी भने देखाउनकै लागि मात्रै सडक अनुगमनमा गएका थिए । ‘मेयर सडक हेर्न आउनु भयो तर जहाँ हेर्नु पर्ने हो त्यहाँसम्म नपुग फर्कनु भयो । यो त आँखामा छारो हाले जस्तो मात्र भयो । उहाँले हाम्रो समस्या नै बुझ्न चाहनु हुन्न जस्तो हामीलाई लाग्छ’, एक स्थानीयले भने । मेयर र वडाध्यक्षले तदारुकता नदेखाउँदा सडकको हालत खराब भएको स्थानीयको आरोप छ ।

स्थानीय आक्रोसीत, वडा कार्यालयमा ताल्चा लगाउने चेतावनी

यसरी सडक निर्माण अधुरो हुँदा स्थानीयबासी आक्रोसित बनेका छन् । सडकमा बनेका खाल्डाखुल्डीले सडक दुर्घटना बढेको र आवात जावातमा पनि समस्या परेकोले स्थानीय आक्रोसीत बनेका हुन् । इटहरी १७ का स्थानीयबासी तथा टोल विकासका अध्यक्ष ललित बस्नेतले सडक निर्माण रोकिनुमा वडा कार्यालय र नगर दोषि रहेको आरोप लगाएका छन् । सडक निर्माण तत्काल अघि नबढे विरोधमा उत्रिने उनले बताए । ‘हामी यो सडकले गर्दा आक्रान्त बनि सकेका छौँ । अब हामी सडक निर्माण भएन भने वडा कार्यालयमा ताल्चा लगाउँछौँ । त्यति मात्र होइन यो बाटोको प्रवेशद्धारमा पनि ढाँट लगाउँछौँ । यहाँ सवारीसाधन आवात जावातमा नै प्रतिवन्ध गर्छौँ’, उने भने ।

यस्तै अर्की स्थानीयबासी देविका बन्जराले बाटो नबन्दा बालबालिकालाई विद्यालय पठाउन समस्या भएको बताइन् । वर्खाको समयमा आफ्ना बालबालिकाको झोला र बालबालिकालाई काखमा बोकेर कष्टपुर्ण तरिकाले विद्यालय पठाउनु परेको उनको गुनासो छ । ‘बाटो विग्रदा हामीलाई सास्ति परेको छ । हाम्रा छोराछोरीलाई विद्यालय पठाउनै हामीलाई गाह्रो पर्छ । पानी परेको समयमा स्कुल बस पनि यता आउँदैन । बोकेरै छोराछोरीलाई स्कुल पुर्याउनु पर्छ । एउटा हातमा झोला र अर्को काखमा छोराछोरीलाई बोकेर खोला तारे जसरी स्कुल पठाउनु पर्दा हामी मारमा परेका छौँ’, उनले भनिन् ।

IMG_20201014_104728

 

प्रदेशको एक करोड फ्रिज हुने डर

गत आर्थिक वर्ष यानिकी आ।व २०७६÷०७७ को बजेटबाट प्रदेश सरकारले पकलीको सडक बनाउन एक करोड दिएको थियो । साउन अगाडि नै बाटो सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म बाटो नबन्दा प्रदेशको बजेट फ्रिज हुने सम्भावना बढेको छ । यो आर्थिक वर्षको पनि पहिलो त्रैमासीक सकिन लाग्दा पनि सडक अधुरो भएकाले अब बजेट नआउने पक्का जस्तै भएको छ ।