इटहरीः गत असोज २५ गते सवारी दुर्घटनामा परी निधन भएका साविकको सुन्दरपुर गाउँविकास समितिका पूर्वअध्यक्ष तथा सप्तकोसी मिडिया प्रा.लिका संस्थापक अध्यक्ष एवम् पूर्वमहाप्रबन्धक कृष्णप्रसाद दाहालको हिजो अन्त्येष्टि गरिएको छ ।
इटहरीस्थित बुढिगंगा जमुना मुक्ति घाटमा अन्त्येष्टि गर्नुपूर्व सिग्देल बन्धु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रमका बीच पूर्वमन्त्री लालबाबु पण्डित, प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे,आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, नेकपा केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद सर्वध्वज साँवा, राजकुमार ओझा लगायतको उपस्थितिमा दाहालको शवमा पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली दिन उपस्थित सामाजिक विकास मन्त्री घिमिरे र केन्द्रीय सदस्य बरालले दाहालले नेकपामा रही राजनीतिक क्षेत्रमा गरेका कार्य तथा समाजमा दिएका योगदानको चर्चा गर्दै उनको निधन समाजका लागि अपूरणीय क्षति भएको धारणा राखेका थिए ।
आफ्नो जीवनकालमा दाहालले सक्र्रिय राजनीति र सामाजिक कार्यहरुमार्फत् समाजको प्रगतिका लागि थुप्रै योगदान गरेका छन् । दाहालले २०४८ साल र २०५४ साल गरी दुई पटक सुन्दरपुर गाउँ विकास समितिको अध्यक्षका रुपमा जनमुखी कार्यसम्पादन गरी स्थानीयलाई विकासको प्रतिफल दिलाउन अगुवाइ गरेका थिए । सुन्दरहरैँचास्थित कनकलक्ष्मी सहकारी संस्थाका अध्यक्षसमेत रहेका दाहालले सुन्दरपुर खानेपानी आयोजनाको अध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए । २००५ सालमा संखुवासभाको पाडठामा जन्मिएका दाहालका दुई छोरा, एक छोरी र श्रीमति छन् । ७० वर्षको उमेरमा उनको दुःखद निधन भएको हो ।
यसैबीच, दाहालले समाजमा दिएको योगदानको कदर गर्दै उनको सम्झनामा आज सुन्दरहरैँचा नगरपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयहरुमा शोक बिदा दिएको छ । हिजो भएको निर्णय अनुसार बिदा दिइएको नगरपालिकाले जनाएको छ ।