इटहरीः सार्वजनिक यातायातमा चरम लापर्वाहि देखिएको छ । सोमबार प्रदेश ट्रफिक प्रहरी कार्यालय इटहरीले गरेको अनुगमनको क्रममा सार्वजनिक यातायातमा कुनै स्वास्थ्य सुरक्षा नअपनाई सञ्चालन गरेको पाईएको छ । कतिपय सार्वजनिक यातायातमा स्यानिटाइजर नै राखिएको छैन् । राखिएकामा न यात्रुले प्रयोग गर्छन् न त स्वयम यातायात व्यवसायीले नै । यात्रु तथा सवारीसाधनका कर्मचारीले मास्क पनि लागएका छैनन् । लगाउनेले पनि सहि तरिकाले लगाएका छैनन् । यता यात्रुहरुले पनि कुनै सामाजिक दुरी कायम नगरी यात्रा गर्ने गरेको पाईएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्दा आवश्यक जनस्वास्थ्यका मापदण्ड पुरा गर्न निर्देशन गरेको छ । तर सार्वजनिक यातायातमा यात्रु र व्यवसायी दुबैले लापर्वाहि गरेको पाईएको छ ।
एउटा सिटमा एक जना मात्रै बस्नु भन्दा मान्दैनन्ः यातायात व्यवसायी
यातायात व्यवसायीले यात्रुलाई बारम्बार भन्दा पनि नमानेको बताएका छन् । ‘हामीले उहाँहरुलाई एउटा सिटमा एक जना मात्र बस्नु भन्दा यात्रुहरु हामी एउटै ठाउँबाट आएका हौँ सँगै बस्छौँ भन्छन्’, एक सार्वजनिक बसका कर्मचारीले भने । ‘हामीले भनेका भनै छौँ । अब उहाँहरु मान्नुनै हुँदैन त हामीले के गर्नु । हामी एकै परिवारका हौँ भन्दै सँगै बस्नुहुन्छ’, उनले भने ।
लामो समयसम्म व्यवसाय ठप्प हुँदा यातायात व्यवसायी मारमा परेको तर सरकारले आधा मात्र यात्रु राखेर भाडमा ५० प्रतिशत वृद्धिगर्न अनुरोध गरेको छ । सोहि कुरालाई ध्ययन दिएर यातायात सञ्चालन गरेको तर यात्रुले नै नमाने पछि बाध्य भएको अर्का यातायात व्यवसायी बताउँछन् । ‘हामीले त सरकारको निर्देशन मानेका छौँ र त्यो कुरामा सजक पनि छौँ तर यात्रुले नै नमाने पछि हामी चढाउन बाध्य हुन्छौँ । अहिले चाडबाडको सिजन सुरु भएको छ । सबै जना यात्रा गर्न चाहन्छन् । यो बेला हामीले उनिहरुलाई रोक्न सक्दैनौँ’, उनले भने ।
व्यवसायीले हामीलाई केहि भनेका छैनन्ः यात्रु
तर यात्रुले भने फरक मत राखेका छन् । यात्रुहरुका अनुसार सार्वजनिक यातायात सञ्चालकले चढ्न र बेग्ला बेग्लै बस्न कुनै निर्देश नगरेको बताएका छन् । ‘हामीलाई गाडिको स्टाफले केहि भन्नु भएको छैन । एकै ठाउँ नबस्नु भन्दा हामीले जावरजस्ती गर्ने कुरै हुने थिएन् । उहाँहरुलाई धेरै यात्रु लिएर जानुछ कहाँ छुटाछुटै बस भन्नुहुन्छ र’, एक यात्रुले भने । उनका अनुसार सार्वजनिक यातायात चढ्दा स्यानिटाइजर नै प्रयोग गर्ने गरिएको छैन् । ‘उहाँहरुले हामीलाई गाडिमा चढ्दा स्यानिटाइजर प्रयोग गर्न लगाउनु पर्ने हो तर त्यसो गर्नु हुँदैन । स्यानिटाइजर त छ तर हामीलाई दिनु हुँदैन’, उनले भने ।
अर्का एक यात्रुले भने एकै परिवार वा ठाउँबाट आउँदासँगै बस्दा कुनै समस्या नहुने बताएका छन् । ‘हामी कतिपय एकै परिवार वा एउटै घरका छौँ । यस्तो अवस्थामा सँगै बस्दा कुनै फरक पर्दैन् । कोरोना सर्ने डर नि हुँदैन । त्यसैले दुइजना बस्दा के हुन्छ र ?’, उनले भने । साथै उनले मास्क लगाएर बस्दा जोखिम नै नहुने बताए ।