झापाः विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लागेका झापाको मेचीनगर–९ का एक युवाले व्यावसायिक रूपमा तीन तले खेती शुरु गरेका छन् । कृषि कर्मबाटै उनले राम्रो आम्दानी मात्र गरिरहेका छैनन् अन्यलाई रोजगारी समेत दिएका छन् ।
मेचीनगरमै पहिलो पटक हाइटेक (उच्च प्रविधियुक्त) नर्सरी शुरु गरेका स्थानीय डिल्लीराज उप्रेतीले १२ कठ्ठा जग्गामा मेवा, कागती र सयपत्री फूलको व्यावसायिक तीन तले खेती शुरु गरेका हुन् । खेती विस्तार गर्न जमिन अपुग भएकाले मेचीनगर–९ का डिल्ली न्यौपानेको एक बिघा र मेचीनगर–१० का दाताराम खनालको ५ बिघा जमिन भाडामा लिएर उनले कागती, मेवा, सयपत्री फूल र तरकारी खेती शुरु गरेका हुन् ।
करिब ५ लाख रुपैयाँको लगानीमा शुरु भएको खेतीमा उप्रेतीले रेड लेडी र विनायक जातका १ हजार बोट मेवा लगाएका छन् भने २ सय ५० बोट कागती र सयपत्री फूल पनि त्यहीँभित्र लगाएका छन् । मेवा फल्न र सयपत्री फूल फुल्न थालिसकेका छन् ।
‘शुरुमा मैले २ सय ५० बोट कागती लगाएको थिएँ’ तीन तले खेतीका बारेमा प्रष्ट पार्दै उप्रेतीले भने, ‘कागती १२–१२ को दुरीमा रोपेका छौँ, मेवा ६–६ को दुरीमा रोपेका छौ, बाँकीमा सयपत्री फूलको खेती गरेका छौँ, सयपत्री फूल तिहारमा सबै निकालिन्छ, त्यसबेलासम्ममा मेवाको अर्काे चरणको उत्पादन हुन्छ २ वर्षसम्म मेवा रहे कागतीले उत्पादन दिन थाल्छ ।’
मेवाको बिरुवा रोपेको ३ महिनादेखि फल्ने तथा ८ महिनापछि आम्दानी दिने उप्रेतीको भनाइ छ । स्थानीय बजारदेखि राजधानीका मुख्य बजार तथा देशका विभिन्न भागमा खुलेका साबुन कारखानामा समेत मेवाको माग बढेको उनको भनाइ छ ।
एक सिजनमा करीब दशदेखि १२ लाख रुपैयाँको आम्दानी हुनेमा उप्रेती ढुक्क छन् । बेला बखत मेवा, कागती र फूलमा लाग्ने विभिन्न खाले रोगका कारण समस्या आउने गरेको उनको भनाइ छ । यो खेतीमा ज्यादै ठूला चुनौती पनि रहेको उनको भनाइ छ । विभिन्न कीराको आक्रमणदेखि हावाहुरीबाट समेत यसलाई जोगाउनु पर्छ । मेवाविज्ञ प्राविधिक नभएका कारण सिक्दै खेती गर्नेलाई गाह्रो भएको उनले प्रष्ट्याए ।
भाइरस, फङ्गल असिना पानी हावाहुरीले यसलाई बढी क्षति पुर्याउने उनको भनाइ छ । सम्बन्धित पक्षले बेला बखत प्राविधिकको सेवा उपलब्ध गराउनुपर्ने उनले माग गरे । ‘राज्यले प्राविधिकहरूको व्यवस्था गरिदिनु पर्यो’, उप्रेतीले भने, ‘हामीलाई कृषि पाठशालाको व्यवस्था हुनुपर्यो । बीमाको व्यवस्था गर्नुपर्यो अनि किसानलाई कृषिमा लाग्न प्रेरित गर्न नयाँ नयाँ योजना ल्याउनुपर्यो ।’
मेचीनगर फूलका लागि आत्मनिर्भर बन्ने
आफूले तीन तले खेतीमा लगाएको सयपत्री फूलले मेचीनगर नगरपालिकालाई फूलका लागि आत्मनिर्भर बनाउने उनले बताए । मेचीनगरमा १० देखि १२ हजार मालाको माग हुने र यसलाई आफूले उत्पादन गरेको फूलले धान्ने उनको भनाइ छ । ६ जनालाई उप्रेतीले रोजगारको अवसर समेत दिएका छन् । परिवारले पनि उनको काममा साथ दिएका छन् ।
वैदेशिक रोजगारीबाट फर्केर २०६९ सालदेखि आफ्नै एक बिघा जमिनमा टमाटर उत्पादन गरेर व्यावसायिक खेती शुरु गरेका उप्रेतीको जमिनमा अहिले तरकारी खेतीसँगै विभिन्न जातका फलफूलको नर्सरी छ ।
पूर्ण रूपमा अर्गानिक खेती प्रणाली अपनाएका उप्रेतीले आफूलाई आवश्यक पर्ने अर्गानिक मल आफैं उत्पादन समेत गरेका छन् । आफैंले उत्पादन गरेको गड्यौले मल स्थानीय किसानलाई समेत बिक्री गर्दै आएको उप्रेती बताउँछन् ।
उप्रेतीले डी एन्ड डी बायोप्लानटेक नामक संस्था दर्ता गरेर तरकारी तथा फलफूलको नर्सरी व्यवसाय गरेका छन् । खेती पद्धतिलाई अत्याधुनिक र व्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा हाइटेक नर्सरी तयार गरी रायोको साग पनि उत्पादन गर्दै आएको उनले जनाए ।
१ कठ्ठा जमिनमा तयार गरिएको हाइटेक नसरी पूर्ण रूपमा वातानुकूलित रहेकाले वर्षैभरि खेती गर्न सकिने उप्रेती बताउँछन् ।
२ सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेलमा घाम छिर्ने तर पानी नछिर्ने अनि नच्यातिने पनि उनले जानकारी दिए । उनका अनुसार नर्सरीमा थोपा सिँचाइ प्रणालीबाट सिँचाइ हुने गरेको छ । टनेलको छतबाट पानी छ्यापेर चिसोपन कायम राखिने उनले जनाए ।
नर्सरीमा २ वटा हाइटेक ढोकाको व्यवस्था गरिएको र १० वर्षसम्म प्रयोग गर्न सकिने उप्रेती बताउँछन् । जमिनसँग जोडिएको भागमा विशेष प्रकारको एप्रोन जडान गरिएको र त्यसले बिरुवालाई चाहिनेभन्दा बढी उत्पादन भएको कार्बन डाइअक्साइड र नाइट्रोजनलाई नियन्त्रण गर्ने उनले जनाए ।