इटहरीः झापामा घाइते अवस्थामा रहेको ४० वर्षको दृष्टिविहीन हात्तीको चितवन राष्ट्रिय निकुञ्जबाट आएको चिकित्सक टोलीले हिजो बिहीबार उपचार गरेको छ ।
केही महिनाअघि सिकारीको भाला प्रहारबाट घाइते भएको सो भाले हात्तीको घाउबाट पिप आउन थालेपछि डिभिजन वन कार्यालयको आग्रहमा डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले उपचार गरी हात्तीलाई जङ्गलमा छोडेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार हात्तीको शरीरको पछिल्लो भागमा रहेका दुई ठूला घाउसहित अन्य भागका घाउको उपचार गरिएको हो ।
हात्तीलाई दोस्रो पटकको प्रयासमा औषधि सहितको गोली (डाट) प्रहार गरी बेहोस बनाएर ड्रेसिङ गर्नुका साथै औषधिसहितको इन्जेक्सन दिइएको उपचारमा संलग्न डा. श्रेष्ठले बताए । उनका अनुसार हात्तीको दायाँ आँखाको दृष्टि क्षमता नष्ट भइसकेको छ भने बायाँ आँखाको दृष्टि पनि नष्ट गुम्ने अवस्थामा रहेको छ । आँखाको उपचार सम्भव नभएको उनको भनाइ छ । सो हात्तीले झापाका विभिन्न स्थानमा आतङ्क मच्चाउँदै आएको बताइएको छ ।