झापाः मेचीनगरका विभिन्न पसलमा लामो समयदेखि खान अयोग्य मिति गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखिएको फेला परेको छ ।
मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा खाद्य निरीक्षकसहितको टोलीले मङ्गलबार नगरका मुख्य बजार काँकरभिट्टा र इँटाभट्टाको अनुगमन गर्ने क्रममा त्यस्ता वस्तु फेला पारेको थियो ।
अनुगमन टोलीले काँकरभिट्टाका ८ वटा तथा इँटाभट्टाका २ वटा गरी १० वटा किराना पसलको अनुगमन गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।
सरकारले आयातमा प्रतिबन्ध लगाएका गुणस्तरहीन भारतीय अखाद्य वस्तु समेत नगरका व्यवसायीले बिक्री गर्ने गरेको अनुगमनका क्रममा टोलीले फेला पारेको थियो ।
ती सवै वस्तु टोलीले नियन्त्रणमा लिएको छ । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएको हुँदा उपभोक्ताले स्वस्थ र स्वच्छ खाद्यवस्तु उपभोग गर्न पाऊन् भनेर नगरपालिकाले अनुगमनलाई तीव्रता दिने भएको छ । ‘चाडपर्वको बहानामा उपभोक्ता ठगिने सम्भावना उच्च हुन्छ’, अनुगमन टोली प्रमुख उप्रेतीले भनिन्, ‘यो बेला ठगहरूबाट सजग रहन आवश्यक छ र उपभोक्ता पनि सचेत हुनुपर्छ ।’
अखाद्य र अस्वस्थकर वस्तुको बिक्री नगर्न व्यवसायीलाई नगरपालिकाले भनेको पनि उनले बताइन् ।
नेपालमा प्रतिबन्धित ड्राइगन, दो फूललगायत नामै नसुनेका भारतीय आयल कम्पनीद्वारा उत्पादित तेल, उत्पादन तथा उपभोग्य मिति नभएका खाद्य वस्तु टोलीले जफत गरेको छ । ती सबै वस्तु विभिन्न प्रतिनिधिको रोहवरमा नष्ट गरिने नगरपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा टोलीले अधिकांश व्यवसायीले व्यवसाय सञ्चालनका लागि सम्बन्धित कार्यालयबाट लिनुपर्ने इजाजतपत्र नलिएको, लिए पनि नवीकरण नगरेको, मूल्य सूची नराखेको पाइएको थियो । नेपाल सरकारले तोकेका सार्वजनिक स्थल, सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, स्वास्थ्य संस्था, विमानस्थल, सार्वजनिक सवारी साधन, बाल गृह, वृद्धाश्रम, उद्योग तथा कलकारखाना, चलचित्र घर, सांस्कृतिक केन्द्रबाट टाढा राख्नुपर्नेमा त्यसरी नराखेको पाइएको छ ।
शारीरिक व्यायामशाला, धर्मशाला, पौडी पोखरी, पुल हाउस, डिपार्टमेण्ट स्टोर, धार्मिक स्थल, मिनी मार्केट, होटल, रिसोर्ट चमेना गृह, सार्वजनिक प्रतीक्षालय, टिकट काउण्टरजस्ता सार्वजनिक स्थलको कम्तीमा सय मिटरभित्रको घर, पसलबाट धुमपान र मद्यपान बिक्री गर्र्न निषेध गरेको भए पनि त्यस्तो नपाइएको अनुगमन टोलीमा संलग्न मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए ।
व्यवसायीलाई टोलीले व्यवसाय सञ्चालन गर्दा पु¥याउनुपर्ने प्रक्रिया पूरा गर्न पहिलो पटक सजग गराएको छ । पटकपटक व्यवसायीले गल्ती गरे वा टोलीले दिएको निर्देशन पालना नगरे कानुनी कारवाही गरिने उपप्रमुख उप्रेतीले बताइन् ।
अनुगमन टोलीमा उपप्रमुख उप्रेती, नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्की, नगरका प्रेस संयोजक लक्ष्मी उप्रेती, खाद्य प्रयोगशाला काँकरभिट्टाका खाद्य निरीक्षक दिनेश ढुङ्गाना, झापा जिल्ला उपभोक्ता मञ्चका सन्तोष नेउपाने सहभागी थिए ।
त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक अमतलाल माझी, सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक चिरञ्जीवी प्रसाई, नगरप्रहरी दिनेश गुरागाईँगायतको टोलीले अनुगमन गरेको थियो ।