इटहरीः विराटनगरमा दुई दशकअघि सुरु गरिएको चक्रपथ निर्माणको कार्य अलपत्र परेको छ ।

सरकारी–निजी साझेदारीमा निर्माण सुरु भएपनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्य सुस्त बनेको हो । दुई दशकअघि नमुना आयोजनाका रुपमा सरकारले अघि सारेको ४४ किलोमिटर चक्रपथ निर्माणमा सरकारले चासो नदिँदा चक्रपथ आसपासका एक सय मिटर क्षेत्रमा नमुना बस्ती बसाल्ने उद्देश्यले जग्गा अधिग्रहण गरिएकोमा हालसम्म कुनै ठोस योजना नबनेपछि जग्गादाताहरु आक्रोशित बनेका छन् ।

हाल प्रदेश सरकारमातहत रहेको यो योजना लामो समयसम्म सम्पन्न नहुँदा सडक जिर्ण बन्न पुगेको छ । पूर्वाधार विकास कार्यालय मोरङका अनुसार बजेट अभावमा योजना निर्माण अघि बढ्न नसकेको हो । कार्यालयका प्रमुख सुशिल श्रेष्ठले आयोजना प्रदेशमातहत आएको दुई वर्षमा तीन करोड रुपैँया विनियोजन भई सो बराबरको काम सम्पन्न भएको बताए । १० अर्ब रुपैयाँ आवश्यक पर्ने आयोजना निर्माणमा वार्षिक रुपमा दुई चार करोड विनियोजन गरेर आयोजनालाई लामो समयसम्म निर्माणाधीन अवस्थामा राख्ने सरकारी रवैयाका कारण नागरिकले आधारभूत सुविधाका लागि आजीवन प्रतिक्षा गर्नुपरेको छ ।