इटहरीः मोरङको सुन्दरहैँचा नगरपालिका वडा ३ र ४ का स्थानीयले गछिया खोलामा भएको प्रकरण बारे गलत समाचार लेखेको भन्दै विरोध गरेका छन् । शनिवार गछिया खोलामा नै पत्रकार सम्मेलन गरि उनिहरुले विना आधार समाचार लेखेको भन्दै पत्रकार र सञ्चार माध्यम विरुद्ध उजुरु दिने बताएका छन् । आक्रोशीत देखिएका स्थानीयले नगरपालिकाको चाकरी गरेको र पाटीगत आस्था राखेर समाचार लेखेको आरोप लगाएका छन् ।

गछिया खोलामा बालुवा गिट्टी उत्खनन् गरेर आफ्नो र परिवारको जिविकोपार्जन गर्दै आएकी स्थानीय आशा चौधरीले लामो लकडाउनले जिविकोपार्जनमा समस्या भएको र खोला खुलाउन अनुरोध गर्न नगरपालिका गएको जानकारी दिइन् । ‘हामी यही खोलाको बालुवा झिकेर दुई छाक खाना र छोराछारीलाई स्कुलको लागि खर्च जुटाउँथ्यौँ । लामो समय यो कोरोनाले गर्दा लकडाउन भयो र खोला बन्द रहयो ।

यो बेलामा हामीलाई खान लाउन नै समस्या भएको थियो । अहिले त झन् दशै तिहार आउन लागेको छ । अब पनि खोलामा काम गर्न पाएनौँ भने हामीले चाडपर्व कसरी मनाउने ? हुने खानेको बच्चाले खाको लागाएको देखेर हाम्रो बच्चाले पनि माग्छन् उनिहरुलाई कसरी दिने ? त्यही भएर हामी खोलामा पसेका हौँ’, उनले भनिन् । उनका अनुसार खोलाम बालुवा उठाएको र बालुवा लिन ट्रयाक्टर आउँदा खोला खुलेकै छैन भनेर प्रहरीले लान गरेको छ । ‘सरकारले हामीलाई आसोज १ गतबाट खोलामा गएर बालुवा निकाल्न दिन्छ त्यसैले हामीले बालुवा निकालेका हौँ । तर बालुवा निकालेर ट्रयाक्टरमा लैजादै गर्दा प्रहरीले नियन्त्रणमा लिन थालेपछि मेयरलाई जानकारी गराउन नगरपालिका गएका थियौँ’, उनले भनिन् ।

उनिहरुले नगरपालिका गएपछि २/३ घण्टा पर्खेपछि मात्रै मयर आएको आशाले बताइन् । ‘हामीले उहाँलाई धेरैबेर सम्म पर्खेउँ र उहाँ शसस्त्र प्रहरी र सुरक्षा सहित आउनु भयो । उहाँसँग हामीले कुरा गरेयौँ । समाचारमा मान्छे किनेर लागेको भनेर बताइएका प्रकाश भाई पनि केही कामले नगरपालिका नै आउनु भएको रहेछ । मेयरले हामीलाई आइतवारबाट खोल खुल्छ भनेपछि हामी खुुशी हुँदै तुरुन्तै घर फर्केउँ । त्यहाँ हामीले कुनै नराम्रो काम गरेका नै छैनौँ’, उनले भनिन् । घर आएपछि एक अन्लाइन समाचार माध्यम ‘निरन्तर खबर’ले मान्छे किनेर लगेको भन्ने समाचार सम्प्रेषण गरेपछि आफूहरुले अन्लाईनको समाचार विरुद्ध जाने निर्णय गरेको जानकारी दिइन् ।

उनि जस्तै गछिया खोलामा उत्खनन् गरेर आफ्नो जिविकोपार्जन गर्ने सिता चौधरीले आफ्ना गुनासा मेयर र उपमेयरलाई सुनाउन गएको तर सञ्चार माध्यमले हुँदै नभएको समाचार लेखेको भन्दै आक्रोशित भइन् । ‘हामीले मेयर र उपमेयरलाई हाम्रो बारे २ शब्द राख्दिनुस् भनेर नगरपालिका गएका थियौँ । केहि समयमा मेयर आउनु भयो र हाम्रो मागको सम्बोधन गर्नुभयो । उहाँले आइतवारबाट खोल खुल्छ जाउँ, बालुवा गिट्टी विकेन भने हामी उठाइ दिन्छौँ भनेपछि हामी घर आएउँ । अनि बेलुका हामी घर आएपछि एउटा समाचार आयो प्रकाश भाइले हामीलाई बोकेर लगेको र मान्छे किनेर लगेको भनेर । त्यो चाहीँ होइन् । हामीलाइ त्यहाँ घम्साघम्सी भएपछि उहाँले त झन् मेयरसँग कुरा गर्नुभएको हो’, उनले भनिन् ।

सिताले जय प्रकाश रायमाझीलाई आफूहरु नगरपालिका जाने भन्ने कुरा थाहा नै नभएको जानकारी दिइन् । ‘प्रकाश भाईलाई त हामी नगरपालिका गएका छौँ भनेर थाहा नै थिएन । उहाँ अर्कै कामले त्यहाँ आउनुभएको रहेछ र हामीलाई त्यहाँ देखेर मेयर सरसँग हाम्रा कुरा मात्रै राखिदिनुभयो । तर भरे समाचारमा हुँदै नभएको कुरा आयो’, उनले भनिन् । उहाँलाई कुन समाचार माध्यमले आरोप लगाएको हो त्यो फिर्ता लिनुपर्ने सिताको माग छ । साथै उनले समाचार लेख्ने भएपछि सत्यतथ्य मात्र लेख्न अनुरोध गरिन् ।

स्थानीय युवा अभियानता नविन भण्डारीले नगरपालिकाले असोज १ गते नै खोलामा टेन्डर लगाएर खुल्ला गर्नुपर्ने भए पनि त्यसो नगरेर उल्टै आरोप लगाउने काम गरेको भन्दै आक्रोशित बने । ‘६/७ महिना लामो लकडाउनले खोला उत्खनन् गरेर खानेहरु मारमा परेका छन् । त्यहि कुरा लिएर खोला खोल्न अनुरोध गर्दै नगरपालिका जाँदा उल्टै अभियानतालाई आरोप लगाउने काम भएको छ । यो कदापी राम्रो काम हैन । यस अघि पनि हामीले वडा कार्यालयमा पटक पटक माग राखेका थियौँ तर माग सम्बोधन नभएपछि हामी नगरपालिका गएका हौँ’, उनले भने । साथै उनले समाचार दिने र समाचार लेख्नेलाई कारवाहि हुनुपर्ने माग गरेका छन् ।

 मान्छे किनेर लगेका भनिएका जय प्रकाश रायमाझिले लकडाउनको समयमा खोला नखुल्दा यहाँका स्थानीय मारमा परेका र असोज १ गतेबाट खोला खुल्ने आशामा रहेका स्थानीयलाई बारम्बार मिति तोकेर टारीएको बताए । ‘यहाँका स्थानीयहरु यहि खोलालाई आयआर्जनको माध्यम बनाएर जिविको पार्जन गरिरहेका थिए । असोज १ गतेबाट खोला खुल्ने आशामा यहाँका स्थानीय थिए तर यत्रो दिन वितिसक्दा पनि खोल नखुल्दा उनिहरु बाध्य भएर नगरपालिकामा माग राख्न गएका थिए । त्यहि बेलामा म पनि काम विशेषले त्यहाँ पुगे । नगर प्रमुखले आइतवारबाट खोला खुलाउने आस्वासन दिएपछि हामी घर आएउँ’, उनले भने ।

नगरमा भएको घटना यति नै भएपनि समाचार माध्यममा आफूलाई भ्रष्टाचार विरोधी भन्नेले प्रहरीले नियन्त्रणमा लिएको ट्रयाक्टर छुटाउन कमिसन खाने गरेको आरोप लगाएर लेखिएको रायमाझिले बताए । ‘म उहाँहरुको माग सम्बोधन गर्न नगरपालिका गएको थिए तर समाचारमा मैले ट्रयाक्टर छुटाउन पनि कमिसन खाने गरेको भनेर लेखिएको छ । उहाँले कुन आधारमा समाचार लेख्नु भएको हो । यदि मैले यसै गरेको पुष्टि भए कालो मसो दलेर, जुत्ताको माला लगाएर मलाई गाउँ निकाल गरे हुन्छ । उहाँले यो आधारहिन समाचार कसरी लेख्नुभयो । म उहाँलाई पत्रुकार नै भन्छु’, उनले भने । साथै उनले आइतवार जिल्ला अदालत मोरङमा गएर मानहानीको जाहेरि दिने बताएका छन् । यदि सके आफूलाई दोषी देखाउन र कारवाहीको दायरामा ल्याउन अनुरोध गरे ।