झापाः नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी ऐनबाट नआत्तिन देशभरका मजदुरहरूलाई आग्रह गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४, मुलुकी देवानी संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन संहिता २०७४ र मुलुकी देवानी कार्यविधि संहिता २०७४ भदौ १ गतेदेखि एकसाथ लागू भएको छ । संहिता बनेसँगै २० वटा कानुन खारेजीमा परेका छन् ।

‘समृद्धिका लागि श्रम शक्तिको सुरक्षा, यात्रुमैत्री व्यवहार र आपसी हार्दिकता’ भन्ने नारासहित नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मेचीनगर कमिटीले मङ्गलबार झापाको मेचीनगरमा आयोजना गरेको वर्तमान संशोधित ऐन कानुन विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष राईले उक्त आग्रह गरेका हुन् ।

मजदुहरूबीच फुट ल्याउनका लागि कानुनका बारेमा अनर्गल प्रचार भइरहेकाले त्यसको पछि नलागी आफ्नो जिम्मेवारीप्रति सधैँ अघि बढ्न उनले सबै क्षेत्रका मजदुरलाई आग्रह समेत गरे । यो कानुनले आफ्नो काम, कर्तव्य अधिकार र जिम्मेवारी बिर्सेर लापरवाही गर्नेलाई दण्डित गर्ने भन्दै अध्यक्ष राईले आफ्नो जिम्मेवारीप्रति सजग र सतर्क भएर भूमिका निर्वाह गर्ने कसैलाई पनि हानि नपुग्ने बताए ।

कुनै पनि चालकले सवारी नियम उल्लङ्घन गरी सवारी चलाएर धनजनको क्षति भएमात्र त्यस्ता चालकलाई कारवाही हुने ऐनमा प्रष्ट भएको भन्दै उनले अहिले ऐन कानुनबाट देशभरका मजदुरहरू आत्तिने अवस्था नरहेको विश्वास दिलाए । आफ्नो सङ्गठन हरेक मजदुरका हक, हित र अधिकारमा क्रियाशील रहेकोले कुनै पनि क्षेत्रले मजदुरलाई उसका हक, हित अधिकारबाट वञ्चित गर्न खोजे सङ्गठनलाई मान्य नहुने र यसका लागि सङ्गठन लडिरहने उनले प्रतिबद्धता व्यक्त गरे । उनले मजदुरहरूलाई पनि आफ्नो कार्यक्षेत्रमा इमान्दारीपूर्वक लाग्न सुझाव दिए ।

अहिले मजदुरबीचमा फुट ल्याउन कानुनको उल्टो व्यख्या गरेर बेनामे पर्चा छापेर यातायात बन्द गराउने समेत काम भएको भन्दै उनले त्यसतर्फ चनाखो बन्न देशभरका मजदुरहरूलाई आग्रह गरे । केही दिनअघि चालकहरूको नाममा ५ दिनसम्म बन्द भएको प्रसङ्ग कोट्याउँदै उनले त्यसबेला देशका विभिन्न ठाउँमा यातायात मजदुरहरूलाई जुत्ताको माला र कालोमोसो दल्ने काम भएकोमा दुःख व्यक्त गरे । ‘बन्द कसले आह्वान ग¥यो, बेनामे पर्चा बाँडेर’ अध्यक्ष राईले भने, ‘सवारी चलाएको भन्दै जुत्ताको माला लगाउने र कालो मोसो दल्ने कहिल्यै पनि मजदुर हुन सक्दैन ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केही नेताका कारण यातायात क्षेत्र धराशायी बनेको उनको आरोप थियो । महासङ्घका पदाधिकारीहरूको दोहोरो चरित्र बुझिनसक्नुको भएको भन्दै उनले कटाक्ष पनि गरे ।

‘महासङ्घका पदाधिकारीहरू सरकारले प्रालिमा जानु भनेपछि नजाने पनि भन्नुहुन्छ’, अध्यक्ष राईले भने, ‘अहिले उहाँहरू नै धमाधम प्रालि दर्ता गरेर सवारी चलाइरहनुभएको छ ।’ महासङ्घका पदाधिकारीको यो दोहोरो चरित्र बुझ्न नसकिने भन्दै यस्तो चरित्रको अन्त्य गर्नसमेत उनले माग गरे । उनले कुनै पनि स्थानमा सवारी दुर्घटना भए सरकारले उचित छानबिनका लागि विज्ञ टोली बनाएर घटनाका बारेमा सत्यतथ्य घटना बाहिर ल्याउनुपर्ने पनि बताए ।

कुरै नबुझी घटनाका बारेमा आवश्यक छानबिन नै नगरी जुनसुकै दुर्घटना पनि चालकको लापरवाहीले भएकोे भन्दै सरकारले चालकहरूलाई नकरात्मक दृष्टिकोणले हेर्ने गरेको उनको भनाइ थियो ।

अध्यक्ष राईले दुर्घटना न्यूनीकरण र हरेक यातायात मजदुरलाई आफ्नो जिम्मेवारीप्रति बोध गराउने उद्देश्यले ‘म जिम्मेवार यातायात मजदुर’ लेखेको स्टिकर सार्वजनिक सवारी साधनमा टाँसेर अभियानको शुरुवात समेत गरे । दुर्घटनाबाट हुने क्षति कम गर्न र हरेक यातायात मजदुरलाई अनुशासित र यात्रुमैत्री बन्न सहयोग पुग्ने भन्दै यो अभियान देशभर चल्ने राईले बताए । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदिनँ, सवारी चलाउँदा मोबाइलमा कुरा गर्दिनँ, महिला, बालबालिका, अशक्त र वृद्धवृद्धालाई सम्मान गर्दछु, बालश्रम प्रयोग गर्दिनँ, तीव्र गतिमा सवारी चलाउँदिनँ, तोकिएभन्दा बढी भाडा लिन्नँ, सबैसँग सभ्य भाषा प्रयोग गर्छु र ट्राफिक नियमको पालना गर्छु भन्ने ८ वटा प्रतिबद्धता स्टिकरमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ऐक्यबद्धता कोषबाट प्राप्त ३० हजार रुपैयाँको चेक गम्भीर रोग लागेका ठेला मजदुर यमनाथ प्रसाईलाई अध्यक्ष राईले हस्तान्तरण गरेका थिए । सङ्गठनका नगर अध्यक्ष खडानन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा सङ्गठनका प्रदेश नम्बर १ का सदस्य तथा झापा इञ्चार्ज किरण तामाङलगायतले सम्बोधन गरेका थिए ।