इटहरीः मोरङमा देशकै पहिलो जिल्ला न्यायिक सञ्जाल गठन भएको छ ।

उच्च अदालत मोरङका मूख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रदेश नं १ सरकारका महान्यायाधिवक्ता चुडामणि आचार्य संरक्षक रहेको उक्त सञ्जालका संयोजक जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेल रहेका छन्। जिल्ला सञ्जालमा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्र्की उपाध्यक्ष तथा जिल्लाका १७ वटा स्थानीय तहका उपप्रमुखहरु सदस्य रहेका छन्।

यसैगरी, फोकल पर्सनको रुपमा उच्च अदालत मोरङका शाखा अधिकृत ओम सुवेदी र जिल्ला अदालत मोरङका शाखा अधिकृत युवराज पौडेल रहेका छन् । न्याय सम्पादनको कार्यलाई थप प्रभावकारी बनाई न्यायसम्म आम जनताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले मोरङ जिल्लास्थित उच्च अदालत, जिल्ला अदालत, मुख्य न्यायाधिवक्ताको कार्यालय, स्थानीय तहका न्यायिक समितिहरुबीच समन्वय, सहकार्य र सहयोगको वातावरण निर्माण गर्न वान्छनीय भएकाले उक्त न्यायिक सञ्जाल गठन गरिएको उच्च अदालत मोरङका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले बताए ।

 मोरङ जिल्ला न्यायिक सञ्जाल गठनपछि न्याय सम्पादन प्रक्रियामा जिल्लाभर एकरुपता कायम गर्ने, पालिकाहरुबीच आपसी अनुभवहरु आदानप्रदान गर्ने, अदालतबाट भएका फैसलाहरु कार्यान्वयनका निम्ति सहयोग गर्ने लगायतका विभिन्न आवश्यक साझेदारीको सुरुवात गरिने प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले बताए । उच्च अदालत मोरङ र बेलबारी नगरपालिका न्यायिक समितिको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले गरेका थिए ।

उच्च अदालत मोरङका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीले राखेकी थिइन् । जिल्ला न्यायिक सञ्जाल गठन हुनुले आफूहरुलाई न्याय सम्पादन कार्यमा थप सहयोग पुग्ने र काम गर्ने उत्साह थपिएको भन्दै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले उच्च अदालत मोरङ र प्रदेश १ मुख्य न्यायधिवक्ताको कार्यलयलाई धन्यवाद दिएका छन् ।