इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले जानकारी नै नदिइ आन्तरिक सरुवा गरेको भन्दै कर्मचारी असन्तुष्ट बनेका छन् । उपमहानगरले विभिन्न ठाउँमा रहेका कर्मचारीलाई विना जानकारी सरुवा गरेपछि कर्मचारी अन्योलमा परेका छन् । सरुवा गरे लगत्तै केहि कर्मचारी आफ्नो कार्यक्षेत्रमा गए पनि केहिले पहिलाकै ठाउँबाट सेवा प्रवाह गरिरहेका छन् । सरुवा भएर जाने कर्मचारीले नगरप्रमुख र उप–प्रमुखका नजिककालाई पहिलाकै ठाउँमा राखेर अरुलाई मात्र सरुवा गरेको आरोप लगाएका छन् ।

कतिपय सरुवा भएकालाई पनि प्रमुख र उप–प्रमुखले व्यक्तिगत रुपमा फोन गरेर पहिलेकै ठाउँमा बस्न आदेश दिएको सरुवा भएर जाने कर्मचारीले आरोप लगाएका छन् । नगरले समय समयमा अन्तरीक सरुवा गर्नु सोभाविक हो तर सम्पुर्णलाई सरुवा नगरेपछि कर्मचारी रुष्ट भएका हुन् । आन्तरिक सरुवामा नगरको मुख्य विभागका कर्मचारीलाई सरुवा नगरिएको र देखाउनलाई केहि कर्मचारी मात्रै सरुवा गएिको सरुवा भएर जानेहरुले आरोप लगाएका छन् ।

सरुवा भएर गएको ठाउँमा पनि उचित व्यवस्थापन नभकाले कर्मचारी मारमा परेका छन् । खास गरि इटहरीका विभिन्न वडाका सचिवहरुलाई सरुवा गरिएको छ । सरुवा भएर सचिवको रुपमा जाँदा पनि त्यहाँका जनप्रतिनिधहरुले सहयोग नगरेको कर्मचारीहरुको आरोप छ । साथै करारमा रहेका कर्मचारीहरुसँग नजिकिएको र आफूहरुलाई हेलाको दृष्टिकोणले हेरेको कर्मचारीको दुखेको रहेको छ । नयाँ ठाउँका जनप्रतिनिधिहरुसँग कामको लय नमिल्दा कार्यसम्पादनमा असर पुगेको र व्यक्तिगत रुपमा मानसिक तनाव वढ्दै गएको कर्मचारीको भनाइ रहेको छ ।

यो विषयमा हामीले नगर प्रमुख र उप–प्रमुखसँग बुझ्दा आफूलाई कर्मचारी सरुवा भएको कुरा थाहा नभएको प्रतिक्रिया दिएका छन् । नगर प्रमुख द्धारिकालाल चौधरीले कर्मचारी सरुवा भएको बारे जानकारी नभएको बताए । उनले आफ्नो जानकारी अनुसार कुनै कर्मचारीको सरुवा नभएको बताए ।

यस्तै उप–प्रमुख लक्ष्मी गौतमले कर्मचारीको सरुवा कार्यकारीले गर्ने भएकाले आफूलाई यस विषयमा जानकारी नभएको बताइन् । ‘कुनै पनि ठाउँमा कर्मचारीको सरुवा गर्ने संवैधानिका अधिकार प्रमुख प्रशासकिय अधिकृतलाई हुन्छ । उहाँले चाहेको बखत नगर प्रमुख र उप–प्रमुख सँग परार्मश लिन सक्नुहुन्छ यदि नचाहिएका उहाँले नै कर्मचारीको सरुवा गर्ने हो’, उप–प्रमुख गौतमले भनिन् ।

उता इटहरीका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले सबैको सहमतिमा नै कर्मचारीको सरुवा गरिएको जानकारी दिए । ‘हामीले एकैपटक सबै ठाउँको कर्मचारीलाई सरुवा गर्नुपर्छ भनेर संवैधानिक बाधा पनि छैन र हामीले सम्पुर्णको सहमतिमा नै कर्मचारीको सरुवा गरेका हौँ’, सापकोटाले भने । उनले सरुवा गरेका सम्पुर्ण कर्मचारी आ–आफ्नो क्षेत्रमा गएको र सरुवा बारे कसैले गुनासो नगरेको जानकारी दिए । साथै उनले कुनै कर्मचारीलाई काखा–पाखा नगरेको बताए ।