इटहरीः भारतले बनाएको बाँधका कारण मोरङको विराटनगरस्थित दक्षिणी क्षेत्र डुबानमा परेको छ । विराटनगर–१८ का वडाध्यक्ष राजदेव यादवले आइसीपी र रेलवे लिक विस्तारका क्रममा भारतले बनाएको बाँधका कारण १३,१४,१५,१६,१७ र १८ मा डुबान हुने गरेको बताएका छन् । स्थानीय निकायलाई जानकारी गराउँदासमेत समस्या निवारणका लागि कुनै पहल नगर्दा गाउँ डुबानमा परी कृषि उत्पादनसमेत प्रभावित भएको स्थानीयको गुनासो छ ।

भारतले अघोषित रुपमा बाँध निर्माण गरेपछि तीन वर्षयता डुबानको समस्या बढेको हो । भारतले आइसीपी निर्माणका क्रममा पुल निर्माणको सट्टा बाँध बनाएपछि बुधनगर लगायतका क्षेत्र डुबानमा परेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको भनाइ छ । निकासका लागि पुल बनाउन आफूहरुले आग्रह गरे पनि संघीय सरकारले सम्बोधन नगरेको पराजुलीले बताए । आइसीपी सञ्चालनका लागि बनाइएको चार किलोमिटर लामो लिंक रोड र रेलवे लिकका लागि बनाइएको बाँधका कारण समस्या भएको छ । डुबान नियन्त्रणको एक मात्र उपाय पुल निर्माण नै भएको भन्दै यसका लागि संघीय सरकारले पहल गर्नुपर्ने बताए ।

डुबानका कारण सीमावर्ति क्षेत्रका दुई हजार पाँच सय घर डुबानमा परेका छन् । डुबानबाट प्रभावित स्थानीयले गत बिहीबार रानी क्षेत्रमा चक्काजामसमेत गरेका थिए । विराटनगर–१५ का वडाध्यक्ष असलम आलमका अनुसार कोशी राजमार्गमा रहेका १० ओटा साइफन हटाई सडक परियोजनाले चार ओटा मात्र साइफन राख्दा डुबान भएको बताए । ६ लेन सडक परियोजना आफू मातहत नपरेकाले समस्या भएको भन्दै मेयर पराजुलीले दुई ओटा साइफन थप गर्न परियोजना प्रतिनिधिसँग आग्रह गरेको बताए । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आइसीपी उद्योग मन्त्रालयको क्षेत्राधिकारमा पर्ने भएकाले आफूले केही गर्न नसक्ने बताए ।