खोटाङः खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा पहिरोको कारण ११ घरपरिवार जोखिममा परेका छन् ।
असोज २ गतेको भारी वर्षाका कारण ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी मावाका ११ घर स्थानीय जोखिममा परेका हुन् ।
बस्तीभन्दा तलबाट सुरु भएको पहिरोले स्थानीयको घर जोखिममा परेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।
पहिरोले दिलबहादुर राई, टेकबहादुर राई, जुनकिरी राई, लालबहादु राई, पर्शुराम राई, पुर्णबहादुर राई, मनकुमार राई, मुगाधन राई, प्रेमबहादुर राई, अम्बीर राई र नैनकुमार राईको घर जोखिममा पारेको हो ।
केही समयअघि गाउँभन्दा माथि र तलबाट खनिएको सडकबाट पहिरो सुरु भएपछि जलेश्वरी मावाको वस्ती उठाउनुपर्ने अवस्था देखिएको छ । बस्ती भन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो सुरु हुँदा माथिल्लो क्षेत्रका वस्ती जोखिममा परेको हो ।
पहिलोभन्दा माथिका दिलबहादुर राई, टेकबहादुर राई र एकल महिला जुनकिरी राईको घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष नैनकुमार राईले बताए ।
पहिरो नरोकिए उनीहरुको घरभन्दा माथिको घर समेत जोखिममा पर्ने खतरा देखिएको छ ।
२०७२ सालको भूकम्पपछि सो स्थानमा पलाएको पानी पनि पहिरोको कारण बनेको छ । हाल पाखा लच्किँदै पहिरोकारुपमा खस्ने क्रम जारी रहेको छ । वस्तीभन्दा माथिको पहिरो भने गत वर्ष जाली सहितको पर्खाल हालेर नियन्त्रण गरिएको वडाध्यक्ष राईले बताए । यस्तै, पहिरोका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ ।