झापाः नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय पशु सेवा विभागले चाडपर्वका नाममा गुणस्तरहीन मासु तथा मासुजन्य वस्तुको अवैध आयात हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।
यसको नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र नाकामा उच्च सतर्कता अपनाउन मातहतका सबै कार्यालयलाई विभागले निर्देशन दिएको छ ।
सोही निर्देशनअनुसार नेपालीको महान चाड बडादशैँ तथा दीपावलीलगायत अन्य पर्वलाई लक्षित गर्दै पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले पूर्वी नाकामा उच्च सतर्कता अपनाएको छ ।
मन्त्रालयले चाडपर्वका नाममा गुणस्तरहीन मासु तथा मासुजन्य वस्तुको अवैध आयात हुने भएकाले यसको नियन्त्रणमा सक्रियपूर्वक लाग्न विभागले निर्देशन दिएको हो । नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएलगत्तै कार्यालयले स्थानीय सुरक्षा निकायको सहकार्यमा वस्तुको जाँचमा कडाइ गरेको कार्यालय प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।
चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरलाई लक्षित गरी मासुको लागि खसी, बोका, राँगा पंक्षी तथा पंक्षीजन्य पदार्थको आयातको चाप बढ्ने गर्छ ।
यस्तो समयमा धेरै रोगी पशुपंक्षी पनि अयात हुने सम्भावना हुन्छ । क्वारेन्टाइन जाँचमा उच्च सतर्कता अपनाएर उपभोक्ता माझ स्वस्थकर मासुको प्रत्याभूत हुनेगरी सम्पूर्ण क्वारेन्टाइन चेकपोष्टबाट उच्च सतर्कताका साथ क्वारेन्टाइन जाँचका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ ।
चाडपर्वमा अन्य दिनको तुलनामा मासु तथा मासुजन्य वस्तुको माग बढी हुने भएकाले पशु तथा पशुजन्य पदार्थको अवैध आयात हुने सम्भावनालाई मध्यनजर गरी यस्ता क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा एवम् अन्य सम्बन्धित निकायसँग समन्वय गरी काम शुरु गरेको कार्यालय प्रमुख सिंहले बताए ।