इटहरीः मूलधारका मिडियाहरुले कोरोना महामारीका नाममा श्रमजीवी पत्रकारको श्रमशोषण गर्ने तथा दबाबपूर्वक बेतलबी बिदामा राखेको भन्दै चार दिनदेखि सत्याग्रहमा उत्रिएका सुनसरीको इटहरी घर भएका नागरिक दैनिकका पत्रकार विद्याधर गुरागार्इँ (सुविद)को सत्याग्रहप्रति नेपाली काँग्रेसनिकट नेपाल प्रेस युनियनको सुनसरी जिल्ला शाखाले ऐक्यबद्धता जनाएको छ ।

शाखाले हिजो बुधबार विज्ञप्ति जारी गरी नागरिक दैनिकले बिनाजानकारी गुरागाईँलाई जागिरबाट निकालेको र तलबसमेत नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनको माग तत्काल पूरा गर्न नागरिक दैनिकको प्रकाशक संस्था रिपब्लिक मिडिया प्रालिसँग माग गरेको छ ।

शाखाका अध्यक्ष पवन अधिकारी र सचिव निशान प्रकृति थारुद्वारा हस्ताक्षरित विज्ञप्तिमा महामारीका कारण समस्यामा परेका पत्रकारहरुको समस्या समाधानको पहल गर्न पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघलाई पनि आग्रह गरेको छ । नागरिक दैनिकको तेस्रो पृष्ठका लागि कार्य गर्ने पत्रकार गुरागार्इँ हटाइएपछि नागरिक दैनिकको काठमांडौस्थित केन्द्रीय कार्यालयमा अनसनरत रहेका छन् ।