धरानः भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप कुमार भण्डारीले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका छन् । उनको गत शनिबार मृत्यु भएको थियो ।
आइतबार बिहान धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषरमा आयोजना गरिएको श्रद्धान्जली कार्यक्रममा मुख्यमन्त्री राई र सभामुख भण्डारी सहित नेकपा प्रदेश १ कमिटी अध्यक्ष देवराज घिमिरेले अन्तिम श्रद्धान्जली दिएका हुन् ।
श्रद्धान्जली कार्यक्रममा नेकपाका प्रदेश, जिल्ला, नगर स्तरिय नेताहरुले पनि फुलमालाले श्रद्धान्जली दिएका थिए । राईको विराटनगर स्थित न्युरो अस्पतालमा शनिबार मृत्यु भएको थियो । उनको हतुवागढी–४ खैराङस्थित आफ्नै गाउँमा अन्त्येष्टि गरिने बताइएको छ । राईको शवलाई हेलिकोप्टर मार्फत हतुवागढी तर्फ लगिएको छ ।