शंकर खत्री
इटहरीः वातावरण संरक्षण गर्ने भन्दै विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम त भइरहेका हुन्छन् । विरुवा रोपेपछि त्यसमा कसैको ध्यान जाँदैन् । रोपेका मध्ये कयौँ विरुवा मर्छन् र केहि मात्रा हुर्कन्छन् त्यो पनि गोडमेल र मलजलको अभावमा हराएर जान्छन् । त्यहि कुरालाई दृष्टिगत गरेर इटहरीमा विगत ७ हप्तादेखि ‘ग्रीन म्यान गोडमेल अभियान’ सुरु भएको छ ।
एक वर्षमा एक लाख विरुवा गोडमेल गर्ने उदेश्यका साथ अभियान संचालनमा आएको हो । इटहरी उपमहानगरको मुख्या चौक र विभिन्न ठाउँमा रोपिएका विरुवाहरुको गोडमेल र मलजल गर्ने अभिप्रयाले अभियान संचालन गरिएको अभियानता सुरेश कार्कीले जानकारी दिए । ‘हामी इटहरी बासीको रहर जंगल भित्र इटहरी सहर भन्ने नारालाई सार्थक तुल्याउन अभियान गरेका हौँ । साथै इटहरी बासीलाई सके अभियानमा जोडिन र नसके आफ्नो घर वरिपरिको वोटविरुवा गोड्न अनुरोध गर्छु’, कार्कीले भने ।
यो एक उत्कृष्ट कार्यक्रम भएको भन्दै अभियानकर्मी दिपक गड्तौलले सबैलाई अभियानमा हातेमालो गर्न अनुरोध गरे । त्यस्तै अभियानकर्मी तथा इटहरीका युवा व्यवसायी मदन चुडालले इटहरीमा हुर्केका विरुवाको रक्षा गर्ने दायित्व वोध गर्दै अभियानलाई जारी राखिएको जानकारी दिए । ‘यो अभियान कुनै पार्टी गरेको अभियान नभएर इटहरीका जुझारु युवाहरु मिलेर इटहरीकै हितको लागि गरेका हौँ । त्यसैले नगरबासी सबैलाई यो अभियानमा जोडिन म अनुरोध गर्छु’, चुडालले भने ।
प्रत्येक हप्ताको सनिवार हुँदै आएको अभियानमा विभिन्न व्यक्ति तथा संघसंस्था पनि जोडिने गरेका छन् । यो अभियान एक लाख विरुवा गोडमेल गरेर मात्र सम्पन्न हुने भएको छ ।