दुहबीःदुहवीमा दैनिक जिविकोपार्जनमा समस्या भएका स्थानीयलाई खाद्यान्न वितरण गर्न थालिएको छ । ‘फुड बैँक’ मार्फत् स्थानीयहरुलाई खाद्यान्न वितरण गरिएको हो । दुहवी युवा समुहले गत भदै ११ गतेबाट सुरु गरेको खाद्यान्न वितरण कार्यक्रमले मंगलवार पनि निरन्तरता पाएको हो । युवा समुहले नगरभित्र रहेका गरिव, विपन्न र समस्यामा परेका समुदायलाई खाद्यान्न वितरण गरेको हुन ।
६ दिन अघिदेखि सञ्चालन भएको सो अभियानमा अहिलेसम्म ५ सय ३५ परिवारलाई खाद्यान्न वितरण गरिएको समुहका सदस्य ऋषि कुमार साहले जानकारी दिए । उनका अनुसार प्रति परिवार एक छाक पुग्ने गरि १ किलोग्राम चामल, १ पावा दाल, १ पावा ‘न्यूटोला’, १ पावा तेल, १ पावा नुन र १ पावा भुजा वितरण गरिएको छ ।
उहाँका अनुसार मंगलवार दुहवीको राई टोलका १ सय ५० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ सुरु गरिएको सो अभियाना दाताको संख्या बढ्दै गएका अझै अभियानलाई बढाएर लग्ने साहले जानकारी दिए ।
कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय दैनिक ज्याल मजदुरी गरेर खाने समुदाय, गरिव तथा विपन्न परिवारलाई दैनिक जिविकोपार्जन गर्न समस्या भएको छ । सोहि समुहलाई ध्ययनमा राखेर सुनसरीका विभिन्न ठाउँमा युवाहरुले ‘फुड बैँक’ मार्फत खाद्यान्न वितरण गर्न थलेका हुन । यस अघि रामधुनी, इटहरी र तरहरामा पनि ‘फुड बैँक’ स्थापना गरि खाद्यान्न वितरण गरिएको थियो ।