इटहरी/ दैनिक उपभोग्य सामान एकै ठाउँमा बिक्री गरी पूर्वमा डिपार्टमेन्ट स्टोरको अवधारणा अघि सारेको गोरखा डिपार्टमेन्ट स्टोरले मनोरञ्जनको क्षेत्रमा पनि लगानी गर्न थालेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरको धरान शाखामा शुक्रबारदेखि अत्याधुनिक सिनेमा हल गोरखा सिनेप्लेक्स सञ्चालनमा आएको छ । ५ करोडको लागतमा २ सय २६ सिट क्षमताको सिनेमा हल सञ्चालनमा ल्याइएको सञ्चालक हेमु थापाले बताए ।
गत शुक्रबार सो हलको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले उद्घाटन गरिन् । धरानमा २ वटा हल सञ्चालन गर्ने योजनाअनुसार एउटा हल सञ्चालनमा आएको र चाँडै अर्काे हल पनि सञ्चालनमा आउने सञ्चालक थापाले बताए ।
डिपार्टमेन्टमा सामान किनेका ग्राहकले मनोरञ्जनको लागि अरु ठाउँमा जानु नपरोस् भनेर सिनेमा हल पनि सञ्चालन गरिएको थापाको भनाइ छ । उनले भने, ‘सामान किन्न र फिल्म हेर्न एकै ठाउँमा पाएपछि ग्राहकलाई पनि धेरै सजिलो हुन्छ ।’ दैनिक ४ वटा शो देखाइने लक्ष्य रहेको र हालसम्म राम्रै प्रतिक्रिया पाइरहेको उनले बताए ।
असार १ देखि इटहरीमा एलिट सिनेमा
यता, असार १ गतेदेखि इटहरीमा एलिट सिनेमा हल सञ्चालनमा आउने भएको छ । ७ करोडको लगानीमा सञ्चालनमा आउन लागेको सो सिनेमा हलभित्र २ वटा हल सञ्चालन हुने बताइएको छ । ३ शो सिनेमा प्रदर्शन हुने र ३ सय ५२ जना दर्शक क्षमता रहेको सो हल डिजिटल प्रविधिको रहेको सञ्चालक कुबेर शर्माले बताए ।
हल सञ्चालकमा फिल्म लगानीकर्ता
यसै सातादेखि सञ्चालनमा आउने इटहरीको यस हलका सञ्चालकहरू फिल्म लगानीकर्ता रहेका छन् । शर्माले जानकारी दिएअनुसार उनका साथै यस हलमा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता छविराज ओझा, चिरञ्जीवि बस्नेत, चैतन्य बराल, दिनेश पोखरेल र नायक पृथ्वीराज प्रसाईँलगायतको लगानी रहेको छ । एफ डि मुभिज् समूह गठन गरी सोही समूहले सो हल सञ्चालनमा ल्याएको र दमकमा पनि सोही समूहले हल सञ्चालन गर्ने तयारी रहेको शर्माले बताए ।
उपत्यकाबाहिर हलवालाको एकाधिकार छैन
सिने क्षेत्रमा हल सञ्चालकको एकाधिकार रहेको र हल सञ्चालकले फिल्म लगानीकर्तालाई अन्याय गर्ने गरेको आवाज लगानीकर्ताले उठाउँदै आएका छन् । निर्माताले हल सञ्चालन गरेपछि हल सञ्चालकको एकाधिकार तोडिएको हो त भन्ने प्रश्नमा शर्माले उपत्यकाबाहिर त्यस्तो एकाधिकार नभएको बताए । उनले भने, ‘काठमाडौंमा एकाधिकार थियो । एउटा समूहले सिने बजार आफ्नो हातमा लिएको थियो । तर उपत्यका बाहिर त्यस्तो अवस्था थिएन । त्यसैले एकाधिकार तोड्न लगानीकर्ताले हल सञ्चालन गरेका होइनन् ।’
बक्स अफिसपछि पारदर्शिता हुने
आगामी माघ १ गतेदेखि सरकारले बक्स अफिस प्रणाली लागू गर्दै छ । सो प्रणालीपछि हल सञ्चालकको एकाधिकार तोडिने शर्माले बताए । ‘फिल्म निर्माताले यस विषयमा आवाज उठाइरहेका थिए । अपारदर्शी हिसाब देखाई लगानीकर्तालाई आर्थिक मारमा पार्ने काम उपत्यकामा व्यापक भइरहेको थियो’, उनले भने, ‘काठमाडौंबाहिर भने यस्तो समस्या थिएन । अब बक्स अफिस लागू भएपछि उपत्यकामा देखिएको यो समस्याको अन्त्य हुनेछ ।’