काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा थापा सभापति पदमा निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २४ गते सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार सभापति पदका उम्मेदवार थापाले छ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे।

निर्वाचन समितिका अनुसार कुल सात हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। कायम मत सङ्ख्या छ हजार ९५९ रहेको निर्वाचन परिणाममा उल्लेख छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्कासहित सदस्य सचिव राजु कटवाल र सदस्य सुजन लोप्चनले हस्ताक्षर गरी निर्वाचन परिणाम सार्वजनिक गरेका हुन्।
थापा यस अघि भएको विशेष महाधिवेशनबाट पनि सभापति पदमा निर्वाचित भएका थिए ।




















