इटहरीः नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको र विभिन्न पदमा बढुवासमेत भएको आरोपमा सुमन प्रसाद तिवारीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

स्वास्थ्य निर्देशनालय, धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तथा हाल स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका तिवारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको र सोही प्रमाणपत्रका आधारमा पटक–पटक बढुवा भएको आरोप लागेको हो।

प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा तिवारीले खोप सुपरभाइजर, राजपत्र अनंकित प्रथम श्रेणीको पदमा नियुक्ति लिन भारतको पटना स्थित Bihar Intermediate Education Council बाट जारी भएको भनिएको आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उक्त प्रमाणपत्रलाई विभिन्न माथिल्ला पद तथा श्रेणीमा बढुवा हुनका लागि समेत पटक–पटक पेस गरी सरकारी सेवामा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको जनाइएको छ।

तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद तथा जरिवाना सजायको मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

यस सम्बन्धमा जारी प्रेस विज्ञप्तिमा प्रवक्ता सुरेश न्यौपानेले आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।