भद्रपुरः लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपंक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेलपुर भएका छन् । तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ ।
‘बोटमा फल पाकेर पहेलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु ?’–फार्मका सञ्चालक मनोज सिंह चिन्तित हुँदै भन्छन् ।
स्थानीय बोलीचालीमा अनारस भनिने भुइँकटहर स्वास्थ्य र स्वाद दुबै दृष्टिले राम्रो मानिन्छ । तीन बिगाहा लिजको समेत ५ विगाहा जग्गामा सिंहले विगत ४ वर्षदेखि भुइँकटहरको व्यावसायिक खेती गर्दै आएका छन् ।
फार्ममा उत्पादित भुइँकटहर यसअघि काठमाडौंको कालीमाटी तरकारी बजारमा लगेर विक्री गरिदै आएको थियो । अहिले लकडाउनका कारण कालीमाटी बजार बन्द हुनु र अन्यत्र समेत विक्री नभएपछि ठूलो लगानीमा गरिएको उत्पादन कुहिएर बोटमै खेर जाने अवस्था आएको सञ्चालक सिंहले बताए ।
हाल उनको खेतीमा ८० हजार बोटमा फल लागेको छ भने ३० हजार फल पाकिसकेका छन् । बाँकी ५० हजार बोटमा जेठमा पाक्नेगरी चिचिला हुर्किरहेका छन् । चैत बैशाखमा रसिलो र गुलियो भुइँकटहरले बजारमा राम्रो भाउ पाउने गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गरिएको लकडाउनले बजार ठप्प भएका छन् ।
सिंहले भुइँकटहर खेतीका लागि राष्ट्रिय वाणिज्य बैङ्कबाट रु. १८ लाख र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट रु. ५ लाख कर्जा लिएको बताए । ‘उत्पादन बजारमा बिक्री गर्ने पिक सिजनमा लकडाउनले चौपट गर्यो, यसपाली भुइँकटहर खेतीमा रु. २२ लाख जति घाटा होला जस्तो छ’–उनी भन्छन् ।
यसवर्षको चैत बैशाखमा भुइँकटहर प्रति गोटा स्थानीय बजारमा रु. ५० देखि रु. ६० सम्म र काठमाडौंमा रु. ७० सम्ममा विक्री हुने उनको अपेक्षा थियो । तर अहिले फार्ममा आउने जोकोहीलाई उनले ठूलो घाटा सहेर प्रति गोटा रु. २५ मै विक्री गरिरहेको जानकारी दिए । फार्ममै आएर फाट्टफुट्ट किन्नेहरु थोरै रहेका छन् ।
लकडाउनले पुर्याएको क्षति बारेमा गुनासो सुनाउने र मर्म बुझिदिने कुनै निकाय नपाएको उनको गुनासो छ । ‘भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई समस्या सुनाएको थिएँ,’ फार्म सञ्चालक सिंहले भने–‘उहाँले काठमाडौं लैजाने भए गाडीको पास बनाइदिन्छु भन्नुभएको छ ।’
कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि हाल झापामा दर्जनौं स्थानमा क्वारेन्टाइन स्थापना गरिएका छन् । राहत सामग्रीको रुपमा चामल र दाल वितरण कार्य भइरहेको छ । फार्म सञ्चालक सिंहले क्वारेन्टाइनमा बस्नेहरुका लागि र राहत बाँड्नका लागि भुइकटहर किनिदिने व्यवस्था हुने हो भने आफुले ठूलो राहत पाउने अपेक्षा राखेका छन् । भुइँकटहर रोग प्रतिरोधी क्षमता बढाउने फल भएको हुँदा यसको सेवन स्वास्थ्यवर्धक हुने उनको दावी छ । रासस