इटहरीः आइतबार बिहान मोरङको बेलबारी–५ कसेनी बस्तीका प्रेमबहादुर तामाङ औधी खुशी देखिन्थे । आफ्नै नामको जग्गामा आफ्नो लागि बनाइएको पक्की घर औपचारिक रूपमै पाउने भएपछि तामाङको अनुहार उज्यालो थियो ।
जीवनमा पहिलो पटक निजी जग्गामा पक्की घर पाएपछि तामाङले भने, ‘अब म सुकुम्बासी होइन ।’ दाताले बनाइदिएको नयाँ घर पाएसँगै सुकुम्बासी हुँदाको पीडाबाट मात्रै होइन हरेक बर्खामा लोहन्द्रा खोलाबाट उत्पन्न हुने त्रासबाट पनि मुक्ति पाए तामाङले । २०७४ साल साउन २८ गते आएको लोहन्द्रको बाढीले उनको घर भत्काएको थियो । पीडित तामाङलाई अब लोहन्द्राले आफ्नो घर छोप्दैन भन्ने विश्वास छ । ‘खोला किनारको खोलाकै जग्गामा बसेर लोहोन्द्राले दुःख दिन्थ्यो’, तामाङ भन्छन्, ‘अब खोला धेरै पर छ, यता त पस्दैन होला ।’

जब लोहन्द्राले घर छोप्यो.....
श्रीमतीसहित २ छोरी र १ एक छोराका अभिभावक तामाङ २०७४ साउन २८ गते राती मस्त निद्रामा थिए । एक्कासी खाटमै पानी आएको अनुभव भयो । उनले उठेर हेरे ।
खोलाको बढेको पानीले घर छोप्दै लगेको थियो । उनले हतपत छोराछोरी र श्रीमतीलाई उठाएर निकाले । आफ्ना गाई र बाख्राहरू पनि निकाले । भाँडाकुँडा र कपडाहरू केही निकाल्नै पाएनन् । बाढीले लगिदियो ।

20180909_092712

 

खोलाकै जमिनमा भए पनि राती साढे ११ बजेसम्म आफैँले बनाएको घर थियो तामाङको । खानलाई चाहिने अन्न थियो । पकाउने भाँडाकुँडा थिए । भोलिपल्ट केही रहेन । उनी छिमेकीकोमा शरण लिएर बसे ।

बच्चामै सङ्खुवासभाको खमारे भन्ने ठाउँबाट मोरङको रङ्गेली आएका तामाङको आफ्नो नाममा जग्गा थिएन । पछि, आफ्ना मितभाइ बखत मगरको सल्लाहमा लोहन्द्रा किनारमा बस्न आएका तामाङको भएको अलिकति घर पनि बाढीले भताभुङ्ग भयो । घर मात्रै भताभुङ्ग भएन सामान्य बालुवा चालेर दैनिक गुजारा गर्दै आएका तामाङको दैनिकी नै भताभुङ्ग भयो ।

20180909_094046

तामाङले यसरी पाए पक्की घर
बाढीबाट विस्थापित तामाङ परिवारलाई सहयोग केही दिन मात्रै आयो । बाढीको आतङ्क कम हुँदै गएपछि तामाङ भत्किएकै घरमा बस्न थाले । व्यवस्थित घर बनाउन पैसा थिएन । नयाँ सुरक्षित झुप्रो उभ्याउन जमिन थिएन । त्यही विवशताले उनी तनावमा थिए ।
एक दिन ‘गोर्खा पिस’ नामक बेलायती गोर्खा सैनिकहरूको परोपकारी संस्थाका स्वयंसेवकहरू बाढी पीडित क्षेत्रमा राहत लिएर आए । बेलबारीमा २५ घरहरू बाढीले भत्काएकोमा १२ घर त तामाङकै वडामा भत्किएका थिए । ती १२ घरमा पनि तामाङको घर सबैभन्दा विपन्न र दयनीय अवस्थामा थियो । हो, त्यही कारणले गोर्खा पिस फाउन्डेसनलाई स्थानीय स्वयंसेवी तारा कुलुङ लगायतले तामाङलाई घर बनाएर दिन प्रस्ताव गरे । स्थलगत अवलोकनमा आएका गोर्खा पिस फाउन्डेसनका प्रेम थक्लुङले सहमति जनाए । र, घर बन्ने प्रक्रिया अगाडि बढ्यो ।

20180909_091022

स्थानीय शेरबहादुर वनको १० धुर जग्गा किनियो । गत जेठबाट घर बनाउन शुरु भयो । २ महिनापछि घर तयार भयो । ८ लाखमा तयार भएको सोही घर आइतबार तामाङलाई हस्तान्तरण गरियो । वडा नम्बर ५ का वडाध्यक्ष विश्वबन्धु बस्नेत र गोर्खा पिस फाउन्डेसनका प्रेम थक्लुङले संयुक्त रूपमा जमिनको लालपुर्जा र पक्की घर तामाङलाई हस्तान्तरण गरे ।
हस्तान्तरण समारोहमा बोल्दै थक्लुङले अब प्रेम तामाङले पहिलेको भन्दा भिन्न जीवन जिउनुपर्ने भएकाले अन्य सहयोग गर्न पनि तयार रहेको बताए । ‘पहिले उहाँ खोला किनारमा बस्नुहुन्थ्यो । बत्ती, पानी र ग्यासको दाम तिर्नु पर्दैनथ्यो’, थक्लुङले भने, ‘अब भने पक्की घरमा बसेपछि ती सबैको पैसा दिनुपर्छ ।’

20180909_101319-1

 

 


तामाङलाई दैनिक गुजारा गर्न सहज बनाउन गोर्खा पिस फाउन्डेसनले ४ वटा सुँगुर किनेर दिने वा अन्य सजिलो आयको लागि लगानी गरिदिने बताए । उनले भने, ‘घर दिएर मात्रै हुन्न । घरजम गर्ने आय पनि दिनुपर्योे । त्यसमा हामी सहयोग गर्छौँ ।’

20180909_094908