सङ्खुवासभाः सङ्खुवासभामा दुई दिनदेखि लगातारको वर्षापछि आएको पहिरोले विभिन्न स्थानमा क्षति पुर्याएको छ । पहिरोले सदरमुकाम खाँदबारीमा रहेको कारागारको भवन उच्च जोखिममा परेको छ ।
शनिबार दिउँसो आएको अविरल बर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी कम्पाउण्ड (पर्खाल) भत्किएको जेलर राजन घिमिरेले बताए।
पहिरोले कारागारको तल्लो भागको ३० मिटरको बाहिरी कम्पाउण्ड भत्किएर तलदेखि पहिरोले तान्न थालेको छ । पहिरो रोकथामका लागि हिजोदेखि मर्मत थालिए पनि बर्षाका कारण समस्या भएको छ ।
यसैगरी, पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्र दल गुल्मसमेत जोमिममा परेको छ । पहिरोले नेपाली सेनाको ब्यारेकको माथिल्लो भाग बगाएको छ ।
पहिरोले खाना पकाउने भान्सा घर र शौचालय जोखिममा परेको हो । यता, पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शैय्याको नगर अस्पतालको पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । त्यस्तैगरी चैनपुर ३ सिद्धपोखरीमा एक घर पहिरोको जोखिममा परेको छ ।
आइतबार दिउँसो आएको बर्षाका कारण ढुङ्गा माटोले बनेको तेन्जि शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको निमित्त प्रहरी प्रमुख लामिछानले बताए।
त्यस्तैगरी, पहिरोका कारण उत्तर दक्षिण कोशी सडक खण्डका केही स्थानमा अझै पहिरोले अवरोध भएका कारण जिल्ला बाहिर जाने लामो दुरीका यातायात सञ्चालनमा रोक लगाइएको छ ।
माथिल्लो क्षेत्रमा लगातर ठूलो बर्षा भइरहेको र अरुण नदीका बेसिनहरु खतराको तह पार गरेको अवस्था रहेको र अझै बढ्ने खतरा भएका कारण जिल्ला बाहिर तथा जिल्ला भित्रका ग्रामिण सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको निमित्त प्रहरी प्रमुख लामिछानले जानकारी दिए।
भोटखोला जाने सडक अवरुद्ध
पहिरोका कारण सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर(दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ ।
उत्तर-दक्षिण सडक खण्डको मकालु गाउँपालिका ३ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ ।