धरानः ब्राह्मण समाज नेपाल धरान नगर समितिको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा ज्योतिष विद्यासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
यही असार १ गतेदेखि १० गतेसम्म सञ्चालन भएको तालीमको समापन बुधबार सम्पन्न भएको हो । तालीममा दलित तथा ब्राह्मण जातिका १५ जना महिला र २७ जना पुरुष गरी ४२ जना सहभागी थिए । ज्योतिष प्राध्यापक अम्बरराज ढकाल, सोमप्रसाद सुवेदी र हीराप्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए ।
ज्योतिष विद्यालाई नयाँ पिढीमा हस्तान्तरण गर्न र मौलिक बौद्धिक धर्म संस्कृतिको निरन्तरताका लागि कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष उद्ववप्रसाद अधिकारीले बताए । परापूर्व कालदेखि मान्दै आएको ज्योतिष विद्याको नेपाली समाजमा छुट्टै मौलिकता रहेको र मानिसलाई मर्यादित बनाउन यसले महत्वपूर्ण भूमिका खेलेको समाजका सचिव कमलप्रसाद भट्टराईले बताए ।
धरान उपमहानगरपालिका सामाजिक विकास शाखाका प्रमुख महिला अधिकृत प्रज्ञादेवी निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनो वितरण गरिएको थियो ।
ज्योतिष विद्या प्रशिक्षणमा दलित तथा महिलालाई पनि सहभागी गराएकोमा खुशी व्यक्त गर्दै यस्ता प्रशिक्षणलाई निरन्तरता दिनुपर्ने सहभागी सिर्जना नेपालले बताइन् । कार्यक्रममा विभिन्न सङ्घ संस्था तथा समूहका प्रतिनिधिको बाक्लो उपस्थिति थियो ।