बेलबारीः बेलबारीको परिश्रमी महिला उद्यमी सहकारी संस्थाको आयोजनामा पुरानो बाहुनी बजारमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बेलबारी नगरपालिकासहित अन्य सङ्घ संस्थाको सहयोगमा भएको शिवरमा गोबर परीक्षण, कृत्रिम गर्भधारण, बाँझोपनाको उपचार, पशु बन्ध्याकरण, नाम्ले र जुकाको औषधी खुवाउने लगायतका सेवा शिविरमा दिइएको थियो ।
शिविरमा हेफर इन्टरनेशनल नेपाल, अभियान नेपाल र औषधि उत्पादक कम्पनीको प्राविधिक सहयोग रहेको थियो । अभियान नेपालका कार्यक्रम संयोजक हेम श्रेष्ठका अनुसार १ सय ५० पशुको गर्भ परीक्षण गरिएको थियो भने १ सय १ पशुको बन्ध्याकरण गरिएको थियो । १ हजार ८ सय ३५ पशुको लागि औषधी वितरण गरिएको थियो । ८ सय पशुलाई विभिन्न रोगको खोप लगाइएको थियो ।
निःशुल्क औषधीसहितको स्वास्थ्य शिविर पहिलो पटक गरिएको आयोजक संस्थाकी अध्यक्ष गंगा श्रेष्ठले बताइन् । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बाख्रालाई औषधी खुवाएर शिविरको उद्घाटन गरेका थिए ।