उर्लाबारीः मोरङको उर्लाबारीमा सुविधासम्पन्न सार्वजनिक शौचालय बन्ने भएको छ । उर्लाबारी वडा नं. ५ को मुख्य चोकमा सार्वजनिक शौचालय बन्ने भएको हो ।

शौचालयको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले शिलान्यास गरेका छन् । उर्लाबारी चोकमै रहेको करिब साढे ६ धुर सार्वजनिक जग्गामा ३ तले आधुनिक शौचालय निर्माण गरिने सार्वजनिक शौचालय निर्माण समितिका संयोजक सर्वजीत भण्डारीले जानकारी दिए ।

करीब ५८ लाख रुपैयाँको लागतमा बन्ने सो शौचालय अपाङ्गमैत्री बन्ने सचिव राजेन्द्र कार्कीको भनाइ छ । शौचालय निर्माणका लागि चालु आर्थिक वर्षमा उर्लाबारी नगरपालिकाले ५ लाख र वडा नं. ५ ले ३ लाख रुपैयाँ बजेट छुट्याएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले जानकारी दिए । मुख्य चोक नजिकै रहेको नेपाल बैक लिमिटेडको साँधमा करीब साढे ६ धुर जग्गा ऐलानी भएको र सँधियार सबैको स्रेस्तामा जग्गा पुगेको ठहर गरी उक्त स्थलमा शौचालय निर्माण कार्य शुरु गरेको उनको भनाइ छ ।

addd

उर्लाबारी नगरपालिकाका प्रमुख फागोले उर्लाबारी नगर क्षेत्रमा सार्वजनिक जग्गा खोजी गरी शौचालय बनाउने बताएका छन् । उर्लाबारी–६ को पूर्व बस स्टेण्ड, हाटखोला, बरगाछी, स्कुलडाँडा, आइतबारे, मङ्गलबारे चोक, थापा चोकलगायतका स्थानमा सार्वजनिक जग्गा खोजी भइरहेको र जग्गा भेटिनेबित्तिकै सार्वजनिक शौचालय बनाउने योजना रहेको उनले बताए ।

उर्लाबारी खुला दिसामुक्त क्षेत्र भएकाले प्रभावकारी रूपमा कार्यान्वयनका लागि पनि सार्वजनिक शौचालय अतिआवश्यक रहेको उनको भनाइ छ ।