इटहरीः शनिबार इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले नेपाल इन्फो नामक एप्स लञ्च गरेकी छिन् । पर्यटन र व्यवसाय प्रवद्र्धन गर्न उक्त एप्सले सघाउ पुुर्याउने बताइएको छ ।
कार्यक्रममा बोल्दै उपमेयर गौतमले देशका सबै क्षेत्रको सूचना एउटै माध्यमबाट लिन सकिने एप्स इटहरीमा लञ्च हुनु खुशीको विषय भएको बताइन् ।‘हामीले केही कुरा र कुनै ठाउँको बारेमा खोज्नुपरेमा अङ्ग्रेजीमा मात्रै भेट्छौँ, तर नेपाली र अङ्ग्रेजी दुवै माध्यममा एकै ठाउँमा सबै क्षेत्रको सूचना पाउनु खुशीको कुरा हो ।’ टुरिजम क्षेत्र र व्यापार प्रबद्र्धनको क्षेत्रमा नेपाल इन्फोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको उनले बताइन् ।

कार्यक्रममा नेपाल इन्फोकी कार्यकारी प्रमुख पूजा कोइरालाले एप्सको बारेमा प्रकाश पारेकी थिइन् । एप्समा पर्यटनदेखि स्थानीय सरकारको बारेमा पनि जानकारी लिन सकिने उनले बताइन् ।
कार्यक्रम नेपाल इन्फोका अध्यक्ष करण बिष्टको अध्यक्षतामा भएको थियो । १५ लाखको लागतमा निर्मित एप्सको शाखा देशैभर खोल्ने बताइएको छ ।