झापाः सामाजिक र साहित्य तथा शिक्षाका क्षेत्रमा रचनात्मक काम गर्ने उद्देश्यसहित झापाको मेचीनगरमा साहित्यकार तेजराज खतिवडाको नाममा निर्माण भएको साहित्यकार तेराख प्रतिष्ठानको शनिबार औपचारिक घोषणा भएको छ ।

प्रतिष्ठानका संस्थापक वरिष्ठ साहित्यकार खतिवडाको जीवनी र उनका कृतिका बारेमा प्रतिष्ठानका सचिव विनोद खनालले प्रकाश पारेका थिए ।

प्रतिष्ठानले अध्यक्ष शिवकुमार पौडेलको सभापतित्वमा आयोजना गरेको कार्यक्रका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपाने थिए । उनको उपस्थितिमा प्रतिष्ठानका संस्थापक वरिष्ठ साहित्यकार तेजराज खतिवडाले प्रतिष्ठानको औपचारिक घोषणा गरे । उनले यो प्रतिष्ठान कुनै वर्ग, जाति, धर्म, लिंग दल विशेषको नभएर सवै वर्ग समुदायले मेरो हो भन्ने अपनत्व ग्रहण गर्ने खालको भएको बताए ।

कार्यक्रममा प्रतिष्ठानले यसवर्षको पद्मा प्रतिभा पुरस्कार धुलाबारी माध्यमिक विद्यालयबाट २०७४ सालको एसईई परीक्षामा छात्रातर्फबाट सर्वाेत्कृष्ट अङ्क ल्याउने रोशना नेपाललाई प्रदान गरेको छ । नगद ११ हजार १ सय ११ रुपैयाँँ राशी र प्रशंसा पत्रसहितको पुरस्कार प्रमुख अतिथि न्यौपाने प्रतिष्ठानका संस्थापक खतिवडालगायतले प्रदान गरेका थिए ।

सो पुरस्कार वरिष्ठ साहित्यकार खतिवडाकी दिवंगत श्रीमती पदमादेवी खतिवडाको स्मृतिमा स्थापित पुरस्कार हो । दिवंगत खतिवडाको जीवनकीका बारेमा कवि आरती पोखरेलले प्रकाश पारेकी थिइन् ।

त्यस्तै, मेचीनगर नगरपालिकास्तरीय बाल कविता प्रतियोगिता तथा कवि गोष्ठी समेत सम्पन्न भएको छ । प्रतियोगितात्मक कवि गोष्ठीमा सीताराम सामुदायिक विद्यालयकी शिला लामिछाने पहिलो भइन् । इष्ट होराइजन माविकी अभिषाराज निरौला दोस्रो, आदर्श विद्या मन्दिरकी पवित्रा देउवा तेस्रो तथा हिमालय अङ्ग्रेजी विद्यालयकी पूजा अधिकारीले सान्त्वना पुरस्कार पाए ।

उनीहरूले क्रमशः २ हजार, १ हजार ५ सय, १ हजार तथा ५ सय रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार गणेश निरौला, जय भण्डारी र खगिन्द्रा खुशी थिए । यसैगरी २ दर्जन बढी झापाली स्रष्टाहरुले आ आफ्ना रचना वाचन गरेका थिए ।

प्रमुख अतिथि न्यौपाने, पवित्रा भेषराज प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, अग्रज पत्रकार चन्द्र भण्डारी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई, प्राज्ञ यज्ञराज प्रसाईलगायतले बोलेका थिए । प्रतिष्ठानका सदस्य टङ्क विकल्पले सञ्चालन गरेको कार्यक्रममा देवीचरण भण्डारी र खगिन्द्रा खुशीले स्वागत गीत तथा प्रतिष्ठानका उपाध्यक्ष दुर्गादेवी खतिवडाले स्वागत मन्तव्य राखेकी थिइन् ।