सुनसरीः सुनसरीको दुहबी–६ स्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रा महोत्सव आयोजना हुने भएको छ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुन लागेको महोत्सवलाई भव्य, सभ्य तथा व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाइएको छ।
महोत्सवबारे राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार रौनियारले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। उनका अनुसार यस वर्षको श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रा महोत्सवमा करिब ५० हजार श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महोत्सवमा दुहबीसहित सुनसरी, मोरङ तथा आसपासका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको अध्यक्ष रौनियारले बताए। श्रद्धालुको उल्लेख्य सहभागिता हुने भएकाले महोत्सवलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन विभिन्न पक्षसँग समन्वय गरी तयारी अघि बढाइएको उनले जानकारी दिए।
महोत्सवमा सहभागी हुने श्रद्धालु भक्तजनको सहज आवतजावत, सुरक्षा तथा आवश्यक व्यवस्थापनलाई प्राथमिकतामा राखिने दुहबी नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम हलुवाईले बताए। ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने भएकाले यातायात व्यवस्थापन, भीड नियन्त्रण, सुरक्षा तथा अन्य आवश्यक व्यवस्थालाई व्यवस्थित बनाइने उनको भनाइ छ।
महोत्सवलाई धार्मिक अनुष्ठानसँगै सांस्कृतिक उत्सवका रूपमा समेत मनाउने तयारी गरिएको छ। महोत्सवका अवसरमा श्रीकृष्ण जन्माष्टमी बालगोपाल प्रतियोगिता, भजन–कीर्तन, प्रसाद वितरण तथा मोटरसाइकल र्याली लगायतका कार्यक्रम आयोजना गरिने मेला उपसमितिका संयोजक चन्दन बैठाले जानकारी दिए।

बालगोपाल प्रतियोगिताले बालबालिकालाई भगवान् श्रीकृष्णको बालरूपसँग परिचित गराउँदै धार्मिक तथा सांस्कृतिक परम्पराप्रति आकर्षित गर्ने आयोजकको विश्वास छ। यस्तै, भजन–कीर्तन र धार्मिक कार्यक्रमले महोत्सवको वातावरणलाई भक्तिमय बनाउने अपेक्षा गरिएको छ।
रथयात्राका क्रममा ठूलो संख्यामा श्रद्धालु सहभागी हुने भएकाले आयोजक समितिले स्थानीय प्रशासन, प्रहरी, वडा कार्यालय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ।
आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य धार्मिक आस्था, सामाजिक एकता तथा स्थानीय सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्नु हो। दुहबीमा वर्षौंदेखि हुँदै आएको श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रालाई यस वर्ष अझ व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको आयोजक समितिले जनाएको छ।




















