काठमाडौँः सेयर कारोबारमार्फत ८० लाख लगानीकर्ता जोडिएको कारोबार व्यवस्थापन प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) को डेटा सेन्टरमै र्यान्समवेयर आक्रमण भएपछि नेपालको पुँजी बजार सोमबार ठप्प भयो । ७२ ब्रोकर कम्पनीको टिएमएस होस्ट गरिएको डेटा सेन्टरमा र्यान्समवेयर प्रवेश गरेपछि नेप्सेको कारोबार बन्द गरिएको हो ।
डेटा सेन्टरमा देखिएको प्राविधिक तथा साइबर सुरक्षासम्बन्धी समस्याका कारण कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीसमेत प्रभावित हुन सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको हो ।
डेटा हबमा भएको र्यान्समवेयर आक्रमणपछि टिएमएस, सिडिएससीसम्बन्धी प्रणाली तथा भुक्तानी प्रणालीमा समस्या देखिएपछि साइबर सुरक्षा र डेटा अखण्डता सुनिश्चित नगरी सेयर कारोबार पुनस् सञ्चालन नगर्न आग्रह गरिएको ब्रोकर रामचन्द्र भट्टराईले बताए । डेटा हबमा समस्या समाधान नभइसकेको र कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत जोखिम पर्न सक्ने अवस्था रहेकाले कारोबार रोक्न आग्रह गरिएको उनको भनाइ छ ।
उनका अनुसार यो सामान्य सर्भर डाउन वा प्राविधिक समस्या मात्र नभई र्यान्समवेयर आक्रमणसँग जोडिएको घटना भएकाले तत्काल प्रणाली चलाउनुभन्दा पहिले प्रभावित सर्भर, नेटवर्क र त्यससँग जोडिएका अन्य प्रणाली सुरक्षित छन् कि छैनन् भन्ने यकिन गर्नु आवश्यक हुन्छ ।
डेटा हब प्रालिमा होस्ट गरिएको उक्त पूर्वाधारमा ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीको टिएमएस सर्भर सञ्चालन हुँदै आएको छ । आइतबार बिहानदेखि समस्या देखिएपछि ब्रोकर कम्पनीले नेप्सेलाई कारोबार स्थगित गर्न आग्रह गरेका थिए । सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० बमोजिम सोमबारको नियमित कारोबार स्थगित गरेको जनाएको छ ।
डेटा हबका अनुसार सेप्टेम्बर २० अर्थात् असोज ४ गते बिहान करिब ५.३० बजे टिएमएस होस्ट गरिएको पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएको पहिचान गरिएको थियो । आक्रमण हुनुअघि बिहान ४ बजे लिइएको पछिल्लो ब्याकअप भने सुरक्षित रहेको र त्यसलाई अन्य प्रणालीबाट अलग राखिएको कम्पनीले जनाएको छ ।
र्यान्समवेयर साइबर आक्रमणको एउटा स्वरूप हो, जसले कम्प्युटर प्रणालीमा रहेका फाइल तथा डेटा इन्क्रिप्ट गरेर प्रणालीको सञ्चालन अवरुद्ध गर्न सक्छ । घटनापछि प्रभावित प्रणालीलाई तत्काल अनलाइनमा नल्याई फरेन्सिक विश्लेषण तथा आवश्यक सुरक्षा परीक्षण भइरहेको डेटा हबले जनाएको छ ।
प्राविधिक समस्या समाधानतर्फ काम भए पनि प्रणालीलाई केही समय ‘आइसोलेसन’ मा राख्नुपर्ने भएकाले तत्काल सञ्चालनमा नल्याइएको ब्रोकर भट्टराईले बताए । आइटी टोलीबाट प्रणालीमा भाइरस प्रवेश गरेको जानकारी आएको थियो । टिएमएस प्रणाली व्यवस्थापनमा संलग्न वाइको र डेटा हबले भने घटनालाई र्यान्समवेयर आक्रमणका रूपमा उल्लेख गरेका छन् ।
मुख्य प्रणाली सुरक्षित ः नेप्से
नेप्सेका अनुसार समस्या नेप्सेको मुख्य कारोबार प्रणालीमा नभई ब्रोकर कम्पनीले टिएमएस सञ्चालनका लागि प्रयोग गर्दै आएको डेटा सेन्टरमा देखिएको हो । प्रभावित पूर्वाधारबाट सम्भावित जोखिम नेप्सेको कारोबार प्रणालीमा फैलिन नदिन प्रणालीलाई अलग राखिएको जनाइएको छ ।
डेटा हबले आक्रमणपछि प्रभावित प्रणालीलाई अनलाइनमा ल्याउनुअघि फरेन्सिक विश्लेषण गर्नुपर्ने जनाएको छ । र्यान्समवेयर अन्य जडान भएका नेटवर्क तथा प्रणालीमा समेत फैलिएको हुन सक्ने सम्भावना रहेकाले थप सुरक्षा परीक्षणपछि मात्रै प्रणाली पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ । नेप्सेको नियन्त्रणमा रहेको कारोबार प्रणालीलाई सुरक्षित राख्न आवश्यक व्यवस्था गरिएको छ ।
चिन्तामा लगानीकर्ता
अचानक कारोबार स्थगित भएपछि लगानीकर्ताले आफ्नो सम्पत्ति तथा कारोबार प्रणालीको विश्वसनीयताबारे चिन्ता गरेका छन् । बारम्बार प्राविधिक समस्या र कारोबार अवरोध हुँदा लगानीकर्ताको सम्पत्तिमा समेत जोखिम बढ्ने भन्दै घटनापछि अहिले मुख्य चासो टिएमएस कहिले पुनः सञ्चालन हुन्छ भन्ने मात्र नभई साइबर आक्रमणबाट लगानीकर्ताको व्यक्तिगत तथा कारोबारसम्बन्धी विवरणमा कुनै असर परेको छ कि छैन भन्ने विषय रहेको लगानीकर्ता जनक कार्कीले बताए ।
छानबिन गर्दै धितोपत्र बोर्ड
धितोपत्र व्यवसायीको कारोबारमा देखिएको प्राविधिक समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले छानबिन थालेको छ । सोमबारको घटनापछि धितोपत्र कारोबार रोक्नुपर्ने अवस्था उत्पन्न हुनुका कारणबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी सुधारका उपायसहितको प्रतिवेदन २०८३ असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिइएको बोर्डका प्रवक्ता नीरञ्जय घिमिरेले जानकारी दिए ।
बोर्डले घटनाको तत्काल अध्ययन गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको जनाएको छ । टोलीले प्राविधिक समस्यासहित कारोबार रोक्नुपर्ने कारणको पहिचान गर्ने जनाएको छ । निरीक्षण टोलीबाट प्राप्त सुझावका आधारमा नेपालको धितोपत्र बजारलाई थप स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन आवश्यक कार्य अघि बढाइने बोर्डको भनाइ छ ।




















