इटहरीः मनसुनको उत्तरार्द्धतिर आइपुग्दा शुक्रबारदेखि तीन दिन देशभर वर्षाको आकलन गरिएको छ । नेपाल मौसम विज्ञान विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै आगामी आइतबारसम्म देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही ठाउँमा भीषणदेखि अत्यधिक वर्षाको समेत चेतावनी दिएको छ । शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनीमा धेरै असर गर्ने देखिन्छ, त्यहाँ भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ ।
विभागले मधेशबाहेक ६ प्रदेशका ४२ जिल्लालाई सुन्तला रंगको संकेत देखाएर बाढीपहिरोको जोखिम धेरै रहेको देखाएको छ । तीमध्ये पनि गण्डकीका ११ वटै जिल्ला र लुम्बिनीका १२ मध्ये रोल्पा, बाँके र बर्दियाबाहेक सबै जिल्लालाई सुन्तला रंगको संकेत दिएको छ । मधेश, कोशी, बागमती, सुदूरपश्चिमका थोरै स्थानमा भीषणदेखि अत्यधिक र कर्णालीका थोरै स्थानमा भीषण वर्षाको आकलन छ । बाँकी ३५ जिल्लामा भने पहेँलो रंगको संकेत छ, जसको अर्थ वर्षा हुने तर सूचना हेरेर अद्यावधिक हुनुपर्छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले अहिलेसम्मको अवस्था हेर्दा तीन दिन लगातारजस्तो पानी पर्ने देखिएको बताए । ‘पानी लगातार पर्ने र केही ठाउँमा अत्यधिक पानीको पनि सम्भावना देखिन्छ,’ उनले भने, ‘न्यूनचापीय क्षेत्रको असर बुधबारदेखि पूर्वी नेपालबाट पर्ने देखिएकाले हामी नियमित अनुगमनमा छौँ । कुनै ठाउँ विशेषमा ठुलो पानी पर्ने देखियो भने हामी रेडअलर्ट पनि जारी गर्छौं ।’
उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग छ । यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र भई पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ । ‘यसको प्रभावले बुधबारबाट नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाका गतिविधि बढ्दै जाने देखिन्छ,’ मौसमविद् लामिछानेले भने, ‘शुक्रबारदेखि थप सक्रिय बन्नेछ ।’
हिमाली क्षेत्रमा भारीदेखि धेरै भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । सरदर नेपालमा १३ जुनमा मनसुन प्रवेश गर्छ भने २ अक्टुबरमा बाहिरिन्छ । यो अवधिमा१४ सय ७२ मिलिमिटर पानी पर्नुलाई सरदर मानिन्छ ।
बढ्यो बाढीपहिरोको जोखिम
देशभर एकसाथ वर्षा हुने भएपछि बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले चुरे, पहाडी र हिमाली क्षेत्रमा बाढीपहिरो तथा तराईमा डुबानको जोखिम बढेको बताए । ‘यो सिस्टमले कुन ठाउँमा बढी असर गर्न सक्छ भनेर भन्न सकिने अवस्था छैन । तर, समग्रमा हेर्दा कर्णालीवारिका चुरे, पहाडी र तराईमा अलि बढी जोखिम देखिन्छ,’ उनले भने, उच्चपहाडी र हिमाली क्षेत्रमा पनि हिमपात हुने भएकाले गेग्य्रान बहाव ९डेब्रिज फ्लो०को जोखिम छ ।’
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बर्खाको पानीले जमिन गलेको र केही ठाउँमा यसअघि नै बाढीपहिरो गइसकेकाले जोखिम बढेको बताइन् । ‘शुक्रबारदेखि आइतबार अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्दा राम्रो हुन्छ । हामीले सूचनामार्फत पनि यही भनेका छौँ,’ महतले भनिन्, ‘प्राधिकरणले सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश र स्थानीय सरकार, तीनवटै सुरक्षा निकाय, स्वंयसेवकलगायत सरोकारवाला सबै र आमसर्वसाधारणलई सुसूचित रहने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेका छौँ ।’
नक्सामा पहेँलो र सुन्तला रंगको अर्थ के हो ?
मौसमको पूर्वानुमानमा प्रयोग हुने रंगले वर्षाको सम्भावना र त्यसबाट हुन सक्ने जोखिमको अवस्थालाई जनाउँछ । सुन्तला रंग देखाइएको क्षेत्रमा प्रभाव अलि बढी हुन सक्छ । विशेष गरी बाढी, पहिरोजस्ता विपत्को जोखिमलाई ध्यानमा राखेर त्यस्ता क्षेत्रमा पूर्वतयारी आवश्यक हुन्छ । ‘पहेँलो रंगको अर्थ पनि पानी पर्दैन भन्ने होइन । त्यस क्षेत्रमा पानी पर्ने सम्भावना हुन्छ, त्यसैले आवश्यक पूर्वतयारी गर्नुपर्छ ।’ मौसमविद् रोजन लामिछानेले भने । अहिलेको पूर्वानुमानअनुसार केही क्षेत्रमा लगातार पानी पर्ने र केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना देखिएको उनले बताए । ‘यदि धेरै स्थानमा एकैपटक अत्यधिक वर्षाको सम्भावना देखियो भने जोखिमको तह बढेर रातो रंगको चेतावनी आउन सक्छ,’ लामिछानेले भने, ‘अहिले त्यस्तो अवस्था आइसकेको भन्ने होइन । तर, पूर्वानुमानलाई निरन्तर अद्यावधिक गर्दै जानुपर्ने अवस्था छ ।’
किन पर्दै छ ठुलो पानी ?
रोजन लामिछाने, मौसमविद्,मौसम पूर्वानुमान महाशाखा
बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको छ । यो प्रणाली बिस्तारै क्रमिक रूपमा पश्चिम–उत्तर दिशातर्फ सर्दै जाने र थप शक्तिशाली भएर नेपालतर्फ आउने देखिएको छ । त्यसको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा बढी भित्रिने भएकाले नेपालको भूभागमा पानी पर्ने सम्भावना बढेको हो । यो न्यूनचापीय क्षेत्र भारततर्फ ल्यान्डफल गरिसकेपछि पनि उत्तरतर्फ सर्ने क्रममा रहनेछ । त्यस क्रममा यसले थप जलवाष्प बोकेर नेपालतर्फ ल्याउने भएकाले शुक्रबारदेखि आइतबार देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना रहने देखिन्छ । अहिले हामी यही प्रणालीलाई निरन्तर मनिटर गरिरहेका छौँ । आगामी दिनमा कहाँ र कति पानी पर्न सक्छ भन्ने विषयमा थप विश्लेषण गरेर पूर्वानुमान सार्वजनिक गर्दै जानेछौँ । अहिले प्रणाली विकसित भइसके पनि यसको प्रभाव सबै ठाउँमा समान छैन । शुक्रबारबाट भने यो प्रणालीका कारण पानी पर्न सक्ने देखिन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।



















