काठमाडौंः  प्रधानमन्त्री वालेन्द्र शाहले संविधानमा उल्लेखित लोकतन्त्र, मानव अधिकार, कानुनी राज्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणको लक्ष्यलाई व्यवहारमै कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र सक्रिय नभए कागजको खोस्टो बन्न सक्ने बताए। उनले संविधान कार्यान्वयन र सुशासनका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको दाबी गरे।

प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताए। प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरिएको उनको भनाइ छ।

balen 4

‘सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने।

उनले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री शाहले सरकारले परम्परागत विकासको बाटोमा मात्र सीमित नभई कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, साइबर सुरक्षा, नवप्रवर्तन र स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने बताए। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसार राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणलाई त्यसको आधारका रूपमा अघि बढाइने उनले बताए।

balen 2

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालैको रसुवा–भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी र आम नागरिकप्रति आभार व्यक्त गरे।

नेपाल उच्च विपद् जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद् आइसकेपछि मात्र नभई त्यसअघि नै जोखिमको सामना गर्ने नीति आवश्यक रहेको बताए। जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकता दिँदै विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने उनको भनाइ छ।

balen 3

प्रधानमन्त्री शाहले संविधान दिवस हरेक वर्ष आउने भए पनि संविधानको उद्देश्य पूरा गर्ने जिम्मेवारी नागरिक र राज्यका सबै निकायको रहेको बताए।

‘संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ—हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट र नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट,’ उनले भने।

जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारका हरेक कदम नागरिकका यिनै आकांक्षातर्फ केन्द्रित रहने बताए। उनले शहीदहरूको बलिदानबाट प्राप्त संविधानलाई काममार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै सम्पूर्ण नेपालीमा संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना व्यक्त गरे।