भवानी बराल

गएको भदौ १६ गतेदेखि नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको जनसम्पर्क अभियान आउँदो मंसीर २५ गतेसम्म चल्नेछ । माओवादी, मूख्य सत्तारुढ राजनैतिक दल हो । राजनैतिक दलसंग दैनिक जनसम्पर्क भएकै हुन्छ । पार्टी, जनवर्गीय तथा शुभेच्छुक संगठनमार्फत दैनिक क्रियाकलाप पनि भैराखेकै हुन्छ । कुनै विशेष घटना, निर्वाचन वा विकसित परिस्थितिमा जनसभा वा अभियान गर्नु अर्को कुरा हो । तर माओवादीले यतिखेर नै यो अभियान गर्नु पछिको मकसद के होला ? यतिबेला माओवादीको संगठनमा कुनै भवितब्य आइलागेको पनि छैन । पार्टी पुरै एकमना छ । भर्खरै केन्द्रिय कमिटीको बैठक सकिएको हो । त्यहि बैठकले ४०९ जनाको जम्बो केन्द्रिय कमिटी बनाइसकेको छ । यस मानेमा असन्तुष्टहरुलाइ बिलो लगाएर भाग पु¥याइ दिएको छ । राष्ट्रिय राजनीतिमा प्रतिगामी परिदृश्य पनि देखिएको छैन । सत्ता तलवित्तल होला भन्ने योग पनि छैन । तर किन फेरी तीन महिना जनतामा जाने अभियानको थालनी गरेको हो ? राजनीतिका पारखीहरुले पनि बुझि सकेका छैनन् । 

भारतीय समाजवादी नेता डा. राममनोहर लोहियाले पार्टीलाई चलायमान बनाई राख्न कुनै कार्यक्रम नभए चलिरहेको रेल, बसमा कार्यकर्तालाइ ढुंगामुढा गर्न लगाउँथे रे । यसो हुँदा मिडियाले समाचार बनाउँथे र पार्टीको नाम जिवन्त रहन्छ भन्ने उनको उद्वेश्य रहन्थ्यो रे । तर माओवादीले त लोहियाको जस्तो अनुकरण पनि गरिरहेको होइन । माओवादीले ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ नामको ‘थिम’ लिएर जाँदैछ । यो थिमभित्र माओवादीको ‘जिन’ कहाँनेर फिट हुन्छ ? त्यसमाथि रुपान्तरण हुने कुराको चुरो चैं के हुन्छ ? अलिक आलोचक र समिक्षात्मक टिप्पणी गर्ने हो भने प्रश्नै–प्रश्नको घेरामा माओवादी अभियान हुनेछ । माओवादी रुपान्तरण भएर जनताबीच जाने की जनताले भने अनुसार रुपान्तरित हुने ? प्रश्न उत्तरित छैन ।    

वनबास की जनबास ?

हिन्दू धर्मतान्त्रिक मिथकमा ‘भगवान’ रामको जन्म लंकाधिपति रावणलाइ बध गर्ने उद्वेश्यले भएको मानिन्छ । तर कथाको बाहिरी रुप चैं राम राजा भए राजपाटमा रानी कौशल्याको प्रभाव पर्ने भयले अर्की रानी कैकेयीले बनवास जान बाध्य पारिएको कथा मञ्चित हुन्छ । यसैले कैकेयीले राजा दशरथलाई मनाएर रामलाइ वनवास जान बाध्य बनाएको, मनाएको कथाको पेटबोली हाम्रो कञ्चटमा आउँछ । तर राम जन्मको उद्वेश्यअनुसार रावण बध गर्ने कार्यभार पुरा गर्न जंगल जान सहजै मानेका हुन । जंगलमा जानुको खसोखास कुरा हनुमानसंग संयुक्त मोर्चा गर्नु थियो । हनुमानसंग मोर्चा नकसी रावणको बध गर्न सकिन्नथ्यो । वास्तवमा रामको वनवासको सार यहि थियो । मिथक अनुसार पृथ्वीबाट पापलाइ मुक्त गर्न उनले रामलीलाको भूमिका निभाउनु थियो, जसलाइ राम राज्य भनेर हामी सबैले जान्ने गरेका छौं ।

तर, माओवादी तत्कालीन प्रतिक्रियावादीहरुले भन्ने गरेको ‘वनबास’बाट फर्केको धेरै हिँउद बर्खा विति सकेको छ । माओवादी त्यही वनबासबाट फर्किएपछि जे जस्तो परम्परागत प्रणालीको बध भयो त्यसको जानकार हामी सबै छौं । त्यस्तै वनबास जाने माओवादीको कुनै योजना हैन । तर, यतिनै बेला राजनीतिको कुन घटनालाइ बध गर्न माओवादी हतारहतार ‘जनबास’ जान खोज्दैछ ? यो प्रश्न पनि अनुत्तरित हुनुहुन्न । 

जनबासमा जाने बन्दोवस्ती 

माओवादी केन्द्रले महाधिवेसनदेखि निश्क्रिय रहेको प्रचार तथा प्रकाशन विभागलाई पुनर्गठन गरेको छ । पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाको कमाण्डमा बनेको विभागले अभियानमा जाने कार्य योजना सार्वजनिक गरिसकेको छैन । प्रवक्ताले अभियानको लक्ष ‘निर्देशक सिद्धान्तलाई पुनस्थापित गर्ने’ बताएका छन । तर निर्देशक सिद्धान्तको रुपरेखा भने बाहिर आएको होइन । प्रचार भन्नासाथ प्रोपोगण्डा शब्द अगाडि आउँछ । अमेरिकी विद्वान नोम चोम्स्कीले प्रोपोगण्डा शब्दको सकारात्मक र विषद व्याख्या ‘प्रोपोगण्डा एण्ड द पब्लिक माइण्ड’ पुस्तकमा गरेका छन । नत्र पत्रकारिताको बुर्जुवा पाठ्यक्रममा सेतो (ह्वाइट) र कालो (ब्लयाक) प्रोपोगण्डामात्र छ । यी दुइ प्रोपोगण्डा नकारात्मक अर्थका हुन । तर पनि बुर्जुवाहरुले यसैको उपयोग गर्दै आएका छन । यसर्थ माओवादीले विकास गर्नु पर्ने रातो (रेड) प्रोपोगण्डा होला । यस्तो रातो प्रोपोगण्डाको भाष्य निर्माण भैसकेको छैन । अथवा यहाँ जनमुखि प्रोपोगण्डा पनि भन्न सकिएला । 

यसै मेसोमा माओवादीलाइ डिजिटिलाइजेसन गर्न आइसिटी फोरम नामको अर्को संगठन बनाएको छ । अभियानको पूर्व सन्ध्यामा बनेको यी फोरम माओवादी तीन महिने अभियानको अर्को बन्दोवस्तीको साजोसामान होला । माओवादीका यी दुई संगठन त साधनमात्र हुन । यी साधनमार्फत लैजाने अन्तरबस्तु के हुने प्रश्नको जबाफ खुट्टिएको छैन । डिजिटिलाइजेसन मार्फत लैजाने ‘लोकरिझ्याँइ’ ग्रिकमा धेरै सय वर्ष अगाडि प्रयोग भैसकेको ‘डेमागग’ प्रवृत्तिको नयाँ रुप हो । माओवादीमार्फत जनताले खोजेको डेमागग प्रवृत्ति हैन । यो प्रवृत्ति त रास्वपा र नविन राप्रपाको प्राधिकारभित्र परिसकेको छ । जहाँ सिद्धान्त दर्शन हुँदैन, त्यहाँ डेमागग प्रवृत्तिले जनता अल्मल्याउनुको विकल्प हुन्न । 

रह्यो माओवादी पार्टी संगठन सात प्रदेशका ७५३ पालिका र ६ हजार बढी वडामा ‘अलरेडी’ माओवादीका सक्रिय–निश्क्रिय संगठन हुँदै होलान । प्रतेक वडामा पुगेर माओवादीले के गर्छन, के भन्छन ? व्यवस्था बदल्यौं ः अब अवस्था बदल्र्छौ ? यो नारा भनिरहन पर्दैन । घरीघरी सत्तामा पुगेको बेला गर्ने आम कर्तव्य हो । सच्चिन्छौं की सिद्धिन्छौं । यो वाक्य पनि दोहो¥याइ तेह¥याइ रहनु पर्दैन । खराखरी सच्चिए भै हाल्छ । सच्चिए नसच्चिएको जनताले कसी लगाइ हाल्छन ।

यो अभियानमा माओवादीले लैजाने सुशासनको मुद्धा होला । स्वशासनको मुद्धा त भर्सेलामा परिसकेको छ । भ्रष्टाचार अनियमिततामा भैरहेको अनुसन्धान कार्वाहीले माओवादीको लोकप्रियतामा केही ग्राफ बढेको होला । तर यति नै सबै कुरा होइन । भ्रष्टाचार, संगठीत अपराधका मुद्धा अदालतमा पुगेपछि टाँइटाइँ फिस्स हुने सम्भावना बढी छ । अहिलेका चर्चित मुद्धाहरु ललिता निवास, नक्कली शरणार्थी र सुन प्रकरणमा अनुसन्धानमै ठूलामाछालाइ उन्मुक्ति दिएको प्रसंगमा कसैको विमति देखिन्न । ललिता निवास प्रकरणमा प्रहरीको अनुसन्धानबाट आएको संगठीत अपराधलाइ सरकारी वकिलको कार्यालयले किर्ते जालसाजीमा पतन गराइ सकेको छ । अनुसन्धानमा किटान भएका केहिलाइ मुद्धा नचलाउने निर्णय गरिसकेको छ । मुद्धा संगठीत अपराधबाट किर्तेमा पतन गराउनासाथ यो मुद्धाको न्यायिक निरुपणमा आकाश जमिनको फरक पर्नेछ । 

यसर्थ यस्ता अस्थायी मुद्धाले पार्टीको साखलाई दीर्घकालीन बनाउन सक्तैन । माओवादीका केन्द्रिय नेताहरु विभिन्न अनैतिक काण्डहरुमा संलग्न भएको बेहोरा बाहिर आएकै छ । नाम आएका ती पात्रहरुलाइ पार्टीले निलम्बन नगरेकोमा केन्द्रिय नेताहरु कै असन्तुष्टी व्याप्त छ । ल्हारक्याल लामाको नियुक्तिले त पहिलो गाँस मै ढुंगा लागेको छ । हिन्दु धर्म सापेक्ष मुलुक बनाउनु पर्ने, संघीयता खारेज गर्नु पर्ने, भरसक राजतन्त्रलाइ पनि स्पेस दिनु पर्ने गणतन्त्रको विपक्षमा पक्षपोषण गर्दै हिँड्ने माओवादी केन्द्रिय समितिकै केही नेता छन् । यस्ता सदस्यहरुलाइ जनताको दैलोठेलोमा लैजाँदा जनतामा कस्तो सन्देश दिन्छन ? यस्तै पात्रहरुलाइ अभियानमा लिएर गए भने जनताले सिधै पिठ्युँ फर्काउने छन् । माओवादी नेताको बेमेल, गुटबन्दीको पोको बोकेर जनताको घरदैलोमा जाँदा के हुन्छ अहिले नै एकीन गर्न सकिन्न । अर्थात यी विषयको उत्तर जनतामा जाँदा के हुन्छ त्यसको आधारमा जनमूल्यांकन हुनेछ । 

अभियान, विधान र महाधिवेसन 

यो अभियान सकिएपछि माओवादीले विधान अधिवेशन र विशेष महाधिवेसन गर्ने निर्णय सार्वजनिक गरेको छ । अर्थात माओवादी रुपान्तरण भैसकेपछि विधान र महाधिवेसन हुनेछ । अब प्रश्न उठ्छ यसपछि माओवादीको विधान विधिसम्मत हुन्छ ? गोजीसम्मत हुँदैन ? यो पतिया, प्रायश्चित गरेपछि आइन्दा माओवादीहरु विधिमा विश्वास गर्ने लायक बन्छन ? रह्यो महाधिवेसनको कुरा । माओवादीले महाधिवेसनमा लिने कार्यदिशाले पार्टीको भविश्य निश्चित गर्छ । समाजवादको आधारशिला तय गर्ने रणनैतिक रुपरेखा कथनी र करणीको विश्वसनियता नै पार्टीको आगामि यात्राको प्रस्थानविन्दु खोल्नेछ । माओवादी केन्द्रलाई यति चैं फाइदा छ की मौजुदा राजनैतिक दलहरुमा माओवादी केन्द्र ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ हो । तर नारा वा थिम लिएर घरदैलो गर्दैमा राजनीतिको रथारोहण गुड्दैन । 

सन् २०१४ मा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको नराम्रो पराजय पछि उसले ‘जाग एक होउ र हराउ’ नारा ल्याएको थियो । तर पश्चिम बंगाल र त्रिपुरामा झनै नराम्रो पराजय भोग्नु परेको थियो । कुनै समयमा भारतको राष्ट्रिय एवम् प्रमुख प्रतिपक्षी र तीन प्रान्त पश्चिम बंगाल, त्रिपुरा र केरलामा सरकार चलाएको पार्टी लोकसभामा यतिबेला तीन सिटमा खुम्चिएको छ । यसर्थ नारा र अविभारामा तालमेल भएन भने यस्तै नियति दोहरिन बेर लाग्दैन । माओवादी नेतृत्वलाई यी कुराहरु पच्न सक्छ सक्तैन तर भारतीय कम्युनिष्टको पराजयबाट सिक्न जरुरी छ ।