इटहरीः धनुषाका दुई जना युवाको  अपहरणगरी भारतमा हत्या गरिएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय  रोहित साह र वडा नं  १३ का २२ वर्षीय  विष्णु साहको अपहरण पछि हत्या गरिएको बताइएको छ ।  

गत पुस २७ गतेदेखि बेपत्ता दुवै जना एउटै परिवारको भएको पुष्टी भएको छ ।  २१ बर्षीय रोहित साह  बिष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । तर अपराधीहरुको फन्दामा परि उनिहरुको हत्या हुन गएको बुझिएको छ ।  गत सोमबार बिष्णुका परिवारलाई  भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेको तर  बिष्णुको परिवार अपहरणकारीलाई रु २० लाख दिन सहमत भएको भएपनि उनिहरुको हत्या भएको प्रमाणित भएको छ । 

अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल–भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे बिष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । तर  भारतीय प्रहरीले दुई शव भेटेपछि आइतबार नेपाल प्रहरीको धनुषालाई खवर गरेको छ । परिवारले फिरौती मागिएको बारेमा भारतीय प्रहरीलाई जानकारी गराइएको जनाएका छन् ।  

भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला परेको बताइएको छ ।  हत्यामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीले पनि अन्य दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको धनुषा प्रहरीले बताएको छ ।