बिलबिजक र स्टक प्रमाणित नभएको सामान भारततर्फ लैजान खोजिएको दाबी, आर्थिक चलखेलको आशंकापछि अनुसन्धान प्रक्रियामाथि प्रश्न

इटहरीः खरिद बिल र ट्याक्स बिलबिनै भारततर्फ लैजान खोजिएको १३ टन जिङ्क एस  धुलोसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएको छ। तर, नियन्त्रणमा लिइएको उक्त ट्रक ठूलो आर्थिक चलखेलमा छोड्ने तयारी भइरहेको आशंका सार्वजनिक भएपछि घटनाले थप प्रश्न जन्माएको छ।

ना.६ ख १३४८ नम्बरको ट्रकमा लोड गरिएको जिङ्क एस धुलोको वैध खरिद बिल, ट्याक्स बिल तथा स्टक प्रमाणित गर्ने कागजात नभएको बताइएको छ। स्रोतका अनुसार बिर्तामोडमा रहेको भनिएको कम्पनीसमेत नक्कली रूपमा खडा गरी बिल तयार पारेर उक्त सामान भारततर्फ लैजान खोजिएको थियो।

ृ राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले शुक्रबार उर्लाबारीबाट ट्रक नियन्त्रणमा लिएको हो। तर, नियन्त्रणमा लिइएको ठूलो परिमाणको सामानको स्रोत र कारोबारको वैधताबारे अनुसन्धान पूरा नहुँदै ट्रक छोड्ने तयारी भइरहेको उच्च स्रोतको दाबी छ।

शनिबार सार्वजनिक बिदाका दिनसमेत राजस्व अनुसन्धान पूर्वाञ्चल कार्यालय इटहरीबाट ट्रक छोड्ने प्रक्रिया अघि बढाउन खोजिएको आशंका गरिएको छ। यसले १३ टन सामानको स्रोत, कम्पनीको वास्तविकता, बिलबिजकको वैधता र सम्भावित राजस्व चुहावट तथा तस्करीको विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने आवश्यकता देखाएको छ।

हाल उक्त ट्रक सहस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण, मोरङको टङ्कीस्थित गणमा राखिएको छ। गणका एसपी गहेन्द्रबहादुर भण्डारीले शुक्रबार उर्लाबारीबाट नियन्त्रणमा लिइएको ट्रक गणमा रहेको पुष्टि गरेका छन्।


 एसपी भण्डारीका अनुसार भन्सारको सूचनाका आधारमा सशस्त्र प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो। आवश्यक अनुसन्धानका लागि ट्रक राजस्व अनुसन्धान कार्यालयलाई बुझाउने तयारी भए पनि सार्वजनिक बिदाका कारण बुझाउन नसकिएको उनले बताए। बिदा खुलेपछि राजस्व अनुसन्धान कार्यालयलाई ट्रक बुझाइने उनको भनाइ छ।

यता, घटनाबारे राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुजित सिंहका अनुसार आफ्नो कार्यालय सरकारले खारेज भइसकेको कारण ट्रक नियन्त्रणमा कार्यालयको कुनै भूमिका नरहेको जानकारी दिए ।

१३ टन जिङ्क एस धुलोको खरिद स्रोत, स्टकको वैधता, कम्पनीको अस्तित्व र बिलबिजकको आधिकारिकताबारे अनुसन्धान नगरी ट्रक छोडिएमा राजस्व अनुसन्धान प्रक्रियामाथि नै गम्भीर प्रश्न उठ्ने देखिन्छ। त्यसैले यस घटनामा सम्बन्धित निकायले पारदर्शी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता छ।

के हो जिङ्क एस धुलो ? 

जिङ्क एस धुलो (Zinc Ash/Zinc Dross) जस्ता (Zinc) धातु पगाल्ने वा प्रशोधन गर्ने प्रक्रियामा निस्कने एक प्रकारको उपेत्पादन (Byproduct) वा औद्योगिक फोहोर हो।

विशेष गरी फलामलाई खिया लाग्नबाट बचाउन गरिने 'ग्याल्भानाइजेसन' (Hot-dip Galvanization) प्रक्रियाका क्रममा पग्लिएको जस्ताको माथिल्लो सतहमा अक्सिजनको प्रतिक्रियाका कारण एउटा पत्र वा खस्रो धुलो जम्मा हुन्छ, जसलाई जिङ्क एस भनिन्छ। यसमा मुख्य रूपमा जिङ्क अक्साइड, केही मात्रामा शुद्ध जस्ता र अन्य अशुद्धिहरू मिश्रण भएका हुन्छन्।