धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा रहेको झमक थापाको घरबाट बेलुका करिब ७ः ४५ तिर लागेको आगो करिब डेढ घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ ।
आगो लागेदेखि नै नियन्त्रणको प्रयास गरिएको थियो । तर‚ बजार क्षेत्रमा लागेको आगोले ग्यासका सिलिन्डर पड्कदा नियन्त्रणमा लिन मुस्किल परेको वडाअध्यक्ष दिपक गुरुङले जानकारी दिए ।
प्रहरी र स्थानीयको सक्रियतामा धनकुटा नगरपालिका र तेह्रथुमको लालिगुराश नगरपालिकाको वारुणयन्त्रमार्फत आगो केही नियन्त्रणमा लिइएको वडाअध्यक्ष गुरुङले बताए। आगलागीबाट चार घर जलेका छन। त्यस्तै आगो नियन्त्रणको लागि २ घर भत्काइएको छ।
स्थानीय होम बहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेको हो। त्यस्तै आगो नियन्त्रण लिन स्थानीय सन्तोष राईको घर भत्काइएको छ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगलागी कारण खुलिनसकेको प्रहरीको भनाइ छ ।