इटहरीः मुख्यमन्त्रीको नियुक्तिको लागि सहमति दिएको नेकपा माओवादी केन्द्र भोली शुक्रबारबाट प्रदेस १ सरकारमा जाने भएको छ । बिहिबार बसेको पार्टीको पदाधिकारी बैठकले शुक्रबार केही मन्त्रीको सपथ ग्रहण गर्नेगरी नाम सिफारिस गरेको बताईएको छ ।
प्रदेश १ कमिटीको पदाधिकारी बैठकले सम्भावित मन्त्रीका सात जनाको नाम सिफारिस गरेको भएपनि माओवादी केन्द्रले २ देखि ३ वटा मात्रै मन्त्रालय पाउने संकेत छ ।
गत सरकारका आर्थिक मामिला मन्त्री रहेका इन्द्र आङ्गवो मुख्यमन्त्रीको दाउमा रहेकाले अहिले मन्त्री नबन्ने भएका छन् । अहिले बन्ने मन्त्रीहरु अढाई बर्षपछि फेरिने सम्भावना रहेकाले धेरै आकांक्षीलाई व्यवस्थापन गर्न सहज भएको बताइन्छ । अहिले मन्त्री बन्न सिफारिस भएकाहरुमा
पहिलो नम्बरमा संखुवासभाका राजेन्द्र कार्की, दोस्रो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईं, तेस्रो नम्बरमा मोरङका गणेश उप्रेती, चौथो नम्बरमा मोरङकै जीवन आचार्य, पाँचौं नम्बरमा उदयपुरका राजेन्द्र किराँती, छैटौं नम्बरमा उदयपुरकै नारायण बुर्जा मगर र सातौं नम्बरमा सोलुखुम्बुका गोम्बु शेर्पा रहेका छन् ।
सिफारिस भएका नाममध्ये प्रदेश कमिटि बैठकले तय गरेको प्राथमिकता र मापदण्डको आधारमा मन्त्रीहरुको छनौट गर्ने जिम्मा संसदीय दलका नेता इन्द्र आङ्गवो लगायतलाई दिइएको बताइएको छ ।
स्रोतकाअनुसार माओवादीलाई पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरिएको छ । पछि कृषि तथा भूमिसुधार थप संकेत छ
माओवादी स्रोतले दिएको जानकारी अनुसार सरकारको नेतृत्व तेह्रथुमका दुर्गाप्रसाद चापागाईंले गर्नेछन् । भने जिवन आचार्य पक्का मन्त्री बन्नेछन् अर्को तेस्रो नाम अहिले सिफारिस भएकाहरुबाट हुने बताइएको छ ।
नयाँ मन्त्रीहरुको शपथग्रहण शुक्रबार विहान १० बजे हुने बताइएको छ । यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् ।