इटहरीः प्रदेश १ प्रदेशसभाको सभामुखमा ओखल्ढुगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतम चुनिने सम्भावना चुलिएको छ । 

मुख्यमन्त्रीमा नेकपा एमाले र सभामुखमा माओवादी केन्द्रका सांसद रहनेगरी केन्द्रमा भएको सहमति बमोजिम गौतम प्रदेश एकको सभामुख बन्ने सम्भावना रहेको बताइएको छ । आम मंगलबार सभामुख चयनको कार्यतालिका आज सार्वजनिक हुँदैछ । कार्यतालिका अनुसार आजै सभामुखका उम्मेद्वारको मनोनयन हुने र २८ गते निर्वाचन हुने भएको छ । 

 सभामुखमा  माओवादी केन्द्रले दिएको उम्मेद्वारीलाई एमालेले समर्थन गर्नेछ । मुख्यमन्त्री पाएको नेकपा एमालेले सभामुखमा माओवादीलाई समर्थन गर्नेछ । ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई माओवादी केन्द्रले सभामुखको उम्मेद्वार बनाउने तयारी गरेको छ । 

यसअघि माओवादी केन्द्रबाट सभामुखमा संखुवासभा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र कार्कीको नाम बाहिर आएको थियो कार्की मन्त्री बन्ने दाउमा भएपछि गौतमको नाम बाहिर आएको हो ।  

गौतम नै सभामुखको उम्मेद्वार बनेको खण्डमा सत्ता गठबन्धनको बहुमत रहेकाले उनको जित निश्चित जस्तै छ । जित निकाल्न ४७ सिट आवश्यक पर्ने प्रदेसभाको लागि प्रदेश १ मा ९३ जना सांसद छन् । सत्ता गठबन्धन बाहेक नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले आफ्ना उम्मेद्वारको बारेमा केही बताएका छैनन् । 

काँग्रेसले अहिलेसम्म सभामुखको उम्मेद्वारको टुंगो लगाएको बुभिएको छैन भने जम्मा ४ सिटमा सिमित रहेको नेकपा एसले पनि केही बोलेको छैन ।