इटहरीः प्रदेश १ को प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन क्रमश यही पौष २८ र ३० गते हुने भएको छ । 

आइतबार प्रदेश सभा सचिवलायमा बसेको सर्वदलिय बैठकले प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने मिती टुंङ्गो लगाएको हो । 

ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकले सोमबार दिउँसो १ बजेको लागि बोलाइएको प्रदेशसभाको बैठक मंगलबार ११ बजेका लागि सूचना टाँसेर सार्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

त्यसैगरी संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ । प्रदेश सभामा सभामुखमा धेरै जनाको दावी रहेकाले पनि निर्णयका लागि मतदान गर्नै पर्ने अवस्था रहेको बताइएको छ ।