इटहरीः प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश संसदीय दलका नेता तथा प्रदेश सांसद हिक्मत कार्कीलाई नियुक्त गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपा समेतको समर्थनमा मुख्यमन्त्रीको दावी प्रस्तुत गरेका कार्कीलाई प्रदेश प्रमुखले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
प्रदेश सरकारको पहिलो मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका हुन । शेरधन मुख्यमन्त्री हुँदा धेरै सवारी खरिद गरेको भन्दै विवादित बनेका व्यक्ति हुन् । सो बेला उनले हरेक आर्थिक बर्षमा आफ्नो मन्त्रालयमार्फत आवश्यकता भन्दा बढी सवारी साधन खरिद गरेर बजेटको दुरुपयोग गरेको आरोप लाग्नुका साथै उनको आलोचना पनि भएको थियो । उनले सो बेला काठमाडौंमा निकै महँगो घर समेत खरिद गरेको चर्चा पनि भएको थियो ।
सुनसरीको भण्टाबारीमा निर्माण भएको रिफ्रेस सेन्टर निर्माणमा पनि उनी र उनीसंगै शेरधन नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका जगदिश कुसियत पनि विवादमा तानिएका थिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभाको ९३ सदस्यमध्ये मुख्यमन्त्री बन्न ४७ सांसदको आवश्यकता पर्नेमा कार्कीलाई एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ६० जनाको समर्थन जुटाएपछि उनी मुख्ष्मन्त्रीमा नियुक्त भएका हुन् । संघमा बनेको सत्ता समिकरणकै खाकामा प्रदेशमा पनि सत्ता समिकरण बनेपछि कार्कीलाई मुख्यमन्त्री बन्ने चिठ्ठा परेको हो ।
को हुन हिक्मत कार्की
स्थायी घर झापा भएका हिक्मत कार्की २०२१ साल असोज ११ गते जन्मिएका हुन । पिता स्व.बमबहादुर कार्की र माता जानुकादेवी कार्कीका तेस्रो सन्तानका रूपमा जन्मिएका कार्कीले झापाको गौरादहमा अधिकांश समय विताएका थिए ।
अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आइएलको पढेर कानुन पढ्न काठमाण्डौ गएका थिए ।
कानुनमा डिग्री सकाएका कार्की अनेरास्ववियुको राजनितिमा निकै माथिल्लो तहसम्म पुगेका थिए । स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति नेपाल ल क्याम्पस) सम्हालेका कार्की विद्यार्थी विषेश जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभामा निर्वाचित भएका कार्की शेरधन राईको नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए । गत मंसिर ४ गते भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका कार्की यसपालि मुख्यमन्त्रीको यात्रा तय गर्न सफल भएका छन् ।