ओखलढुङ्गाः नेपाली हिन्दु संस्कारअनुसार छोराले बुबाआमाको काजक्रिया गर्ने चलन छ । पछिल्लो समय छोरीले पनि आफ्नो बुवाआमाको मृत्यु पश्चात काजक्रिया गर्न थालेको सुनिन्छ । तर श्रीमतीले आफ्नो श्रीमानको काजक्रिया गरेको घटना कमै सुनिन्छ । ओखलढुङ्गामा सिद्धिचरण नगरपालिका –१२ की ५८ वर्षीया सुमित्रादेवी श्रेष्ठले आफ्नो ५४ वर्षीय श्रीमान तिलकबहादुर श्रेष्ठकोे काजक्रिया गरेकी छन् ।
करिब २२ वर्ष पहिले दोस्रो विबाह गरी एक्लै बसेका श्रीमान्को सुमित्रा आफैले १३ दिने मृत्युसंस्कार गरेकी हुन् । मानेभञ्ज्याङ्ग गाउँपालिका –४ धुसिने बस्दैआएका तिलक बहादुरको गत पुष ९ गते छिमेकीको घरमा मृत्यु भएको थियो ।
करिब दुई वर्ष पहिले सुमित्राको छोरा राजु श्रेष्ठको पनि २८ वर्षको उमेरमा निधन भएको थियो । श्रीमानको काजक्रिया गर्ने छोरा समेत नभएकाले आफैले श्रीमानप्रतिको कर्तव्य पालन गरेको सुमित्राले बताइन् ।
जेजस्तो भए पनि, जति दुःख दिए पनि श्रीमान्को आत्माको चिरशान्तिका लागि कर्तव्य पूरा गरेको सुमित्राको भनाइ छ । दाजुभाइ पनि छैनन्, काका बडाबाहरुले बुवाको काजक्रिया गर्न नमानेकाले आमा आफैले बुवाको काजक्रिया गर्नुभएको छोरी रन्जु श्रेष्ठले बताएको खबर गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ ।