धरानः उता धरानको छिमेकी पालिका बराहक्षेत्र नगरपालिका भरौल र नडाहा क्षेत्रमा रातको समयमा हात्तीको जत्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन् ।

बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका भएका छन् । नडाहा क्षेत्रको धना जङ्गलमा दिनभरि बस्ने र साँझ परेपछि मानवबस्ती पसेर खेती बालीमा नोक्सान र्पुयाउँदै आएको नडाहाका स्थानीय महेन्द्र कार्कीले बताए ।

पन्ध्र दिनअघिदेखि रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर एकै स्थानमा बस्दै आएका छन् । २८ वटासम्म हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताए ।

बराहक्षेत्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराह क्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, बिचपानी, विशाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । ३ नं वडामा हालसम्म दुई वटा घरमा क्षेत्र र्पुयाएको वडाध्यक्ष लामाले बताए । बाक्लो बस्ती छ १, २, ३ र ५ नं वडा जङ्गलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्नुपर्ने बाध्य भएको स्थानीय बताउँछन् ।

स्थानीय महेन्द्र कार्कीका अनुसार नडाहा क्षेत्रमा पर्ने कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले साइरन जडान गरेको गाडी डुलाउने गरेको छ । हात्ती आएपछि साइरन बजाएर खेदाउने गरिएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताए  ।

 दैनिक नाङ्लो ठटाएर हात्ती तर्साउने कामभन्दा अरू केही विकल्प नभएको जनप्रतिनिधि बताउँछन् । क्षति भएको घरधनीलाई भने नगरपालिकाले केही राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले बताए । क्षतिको विवरण सङ्कलन गरेर राहत उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे । रासस