इटहरीः प्रदेश नम्बर १ सरकारका मन्त्रालय लगायतका प्रशासनिक भवन, प्रदेशसभा हल तथा मुख्यमन्त्री, मन्त्रीहरुको क्वाटर निर्माणको लागि मोरङ्गमै १२ बिगाहा जग्गा प्राप्त भएको छ ।
वृहत्तर विराटक्षेत्रभित्र प्रदेश मन्त्रालयहरु रहनेगरी निर्णय भएकोमा प्रदेश सरकारले जग्गा प्राप्तीका लागि बनाएको समितिले उक्त जग्गा प्राप्त हुने विवरण सहितको प्रतिवेदन सरकारलाई पेश गरेको थियो ।
प्रदेश सरकारको ५ वर्षे कार्यकाल सकिन लाग्दा संरचना निर्माणको लागि जग्गाको खोजी गरिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताएका छन् ।
आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले विराटनगरमा ७ विगाहा नीजि क्षेत्रबाट र विराटनगर महानगरपालिकाको नाममा रहेको बुढीगंगामा ५ विगाहा जग्गा प्राप्त हुने निश्चित भएको जानकारी दिएका हुन् ।
मन्त्री कार्कीका अनुसार विराटनगरको ५ नम्बर वडाका प्रदीप श्रेष्ठले मन्त्रालयका प्रशासनिक भवन निर्माणका लागि ५ विगाहा र ६ नम्बर वडाका दीक्षान्त पोखरेलले प्रदेशसभा हल निर्माणका लागि २ विगाहा जग्गा दिने प्रतिबद्धतासहित मन्त्रालयलाई लिखित निवेदन दिएका छन् ।
जग्गा दिने निवेदन आएपनि यसका लागि प्रदेशको प्रमुख सचिव, सम्बन्धित पालिकाको प्रमुख, मालपोत शाखा, प्रदेशको भूमि व्यवस्था मन्त्रालयको समेत प्रतिनिधि रहेको समितिको बैठक बसेर जग्गा प्राप्तका लागि निर्णय गरेर स्वीकृतिका लागि संघीय भूमि व्यवस्था मन्त्रालयको महाशाखामा पठाउनुपर्ने र संघीय सरकारले स्वीकृत गरेपछि मात्रै प्रदेशको मातहतमा जग्गा आउने मन्त्री कार्कीको भनाई छ ।
यस्तै प्रदेश १ सरकारको मन्त्रीक्वार्टर निर्माणका लागि विराटनगर महानगरपालिकाले बुढीगंगामा रहेको आफ्नो नामको ५ विगाहा जग्गा दिने निर्णय गरिसकेको छ । महानगरपालिकाको गत असोज १२ गते बसेको नगरकार्यपालिकाको बैठकबाट यस्तो निर्णय भएको हो ।
महानगरको नाममा मोरङको बुढीगंगा गाउँपालिका ६ डंग्राहामा २७ बिगाहा जग्गा रहेको छ । जसमध्ये ५ बिघा जग्गा दिन सकिने महानगरले निर्णय गरेको छ ।
प्रदेश सरकारले जग्गा व्यवस्थापन भएसँगै सुव्यवस्थित प्रदेशसभा बैठक सञ्चालन गर्ने सभाहल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय, मन्त्रालयहरु तथा ती सबैका पदाधिकारीहरुको आवास भवन निर्माण कार्य अघि बढाउने तयारी गरिरहेको छ । मन्त्री कार्कीले महानगरले दिएको ५ विगाहा जग्गामा मुुख्यमन्त्री, मन्त्री तथा सभामुख उपसभामुखको क्वाटर बनाइने बताएका छन् ।