प्रकाश बन्जारा 

 इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ४ स्थित मनिक चौरी नहरको शाखाको जग्गामा पिलर गाडेर घर निर्माण गरिरहेका राम रोहित ठाकुरले जनप्रतिनिधि र समाजका अन्यले स्वीकृति दिएपछि आफुले निर्माण शुरु गरेको बताएका छन् । 

प्रदेश पोर्टलसँगको टेलिफोन सम्पर्कमा बोल्दै ठाकुरले आफुले लालपुर्जा लिएको जग्गामा घर बनाउँदा समाजका केही व्यक्तिले दुश्मनी साँचेर आफुलाई फसाउन लागी परेको समेत बताए ।

नक्सामा नहर नभएको बताउँदै ठाकुरले नहरको जग्गामा घर बनायो भनेर विवाद भएपछि समाज र जनप्रतिनिधि सहितको भेला बोलाएको र आफ्ना छिमेकी समेत रहेका वडा सदस्यले समेत बनाउन भनेर सहमति दिएपछि आफुले पिलर निकालेको बताए । 

रामधुनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमल कार्कीलाई भने आफुले जानकारी नगराएपनि वडा सदस्य खेमनाथ पौडेललाई जानकारी गराएको र समाजका अन्य व्यत्तिहरुको भएको भेलामा वडा सदस्य खेमनाथ पौडेल समेत  रहेर घर बनाउन आफुलाई सहमति दिएको ठाकुरको भनाई छ । 

आफु स्वास्थ्य सेवामा काम गर्ने भएकाले गाउँमै रहेर धेरैलाई सेवा दिइरहेको र कतिपय समयमा आफु सरकारी नियममा बाँधिदा कतिपयलाई उनिहरुले भने अनुरुप सेवा नदिएकोले पनि दुश्मनी लिएर आफुलाई फसाउन खोजेको राम रोहितले बताए । 

अहिले नहर भएको जग्गा मिचेर  दायाँ वाँया अरुले पनि संरचना बनाएको भएपनि आफुलाई मात्रै पेलेर नकारात्मक टिप्पणी गरिएको तर आफुले जनप्रतिनिधि र नहरको शाखा समितिको सहमतिमा संचरना निर्माण थालेको ठाकुरको भनाई छ । 

आफुले पहिला संरचना बनाउँदा पनि अवरोध सिर्जना गरिएको र अहिले आफुले नहर बगिरहेको जग्गामा पिलर राखेर प्यासेजमात्रै निर्माण गरेको बताए । यद्यपि उनले घर नक्सा पनि  नबनाएको स्वीकार गरेका छन् । ठाकुरले पहिला जस्ताको छाना भएको संचरना भएपनि अहिले भने पिलर सहित ढलानको पक्की घर बनाउँदै छन् । 

मंगलबार प्रदेश पोर्टलसँगको कुराकानीमा वडा अध्यक्ष कमल कार्कीले अनाधिकृत संरचनाको निर्माणबारे आफुलाई जानकारी नभएको बताएका थिए भने वडा सदस्य खेमनाथ पौडेलले सिंचाईका अध्यक्ष फुदनलाल चौधरीले आफु छलफलमा पुग्नु अगावै सहमति दिइसकेको भन्दै पन्छिएका थिए । 

नहरको जग्गा भएपनि सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकार अन्तरगत वडाको रहेपनि वडा अध्यक्ष र सदस्य दुवै आफ्नो दायित्वबाट पन्छिँने गरेको पाइएको छ । यता वडा सदस्य पौडेलले आफु सहभागि रहेको छलफलको निर्णय समेत वडा अध्यक्षलाई जानकारी नगराएको पाइएको छ । 

आफ्नो आँगनमा रहेको नहरको सार्वजनिक जग्गा अतिक्रमण हुँदै संरचना बनिराख्दा समेत आफ्नो क्षेत्राधिकार होइन भन्दै जनप्रतिनिधि कर्तव्यबाट पन्छिन खोजेको स्थानीयबासीको आरोप छ ।