प्रकाश बन्जारा
इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ४ मा सरकारी सेवामा कार्यरत कर्मचारी रामरोहित ठाकुर पैनीको जग्गा मिचेर धमाधम घर निर्माणमा जुटेका छन् ।
रामधुनी नगरपालिका वडा नम्बर ४ लालपुर बजार छोएको रामधुनी माविको पुर्वपट्टि रहेको मनिक चौरी नहरको जग्गालाई मिच्दै सिंगीया स्वास्थ्य चौकीमा कार्यरत रामरोहित ठाकुरले पक्की घर बनाएका हुन ।
ठाकुरले केह बर्ष पहिला पनि पैनीको जग्गा मिचेर संचरना निर्माण गरीरहेको बेला सोही नहरबाट सिँचाई गर्ने किसानको विरोध भएपछि संरचनाको निर्माण रोकेको तर हाल आएर सिँचाई योग्य जमिनको कम भई किसानको संख्यामा समेत कमी आएपछि उनीको आवाजलाई वेवास्ता गर्दै संरचना निर्माण गरिरहेको स्थानीयको भनाई छ ।
सुनसरी मोरङ्ग सिँंचाईको शाखा पैनीको रुपमा रहेको उक्त नहरबाट पहिले एक हजार बिघा भन्दा बढि खेती योग्य जमिन सिंचित हुने भए पनि अहिले भने करिव ५० बिघा जमिनमात्रै सिंचाई हुने स्थानीयले बताए । पैनीको पश्चिम तर्फ रामधुनी माविको जग्गा र पुर्व तर्फ स्वास्थ्यकर्मी रामरोहित ठाकुरको घर छ । ठाकुरले आफ्नै घरमा औषधि पसल पनि सञ्चालन गर्दै आएका छन् । पहिला जस्ताको छानामा बनाइएको संरचना अहिले भने पैनीको जग्गामा पिलर हालेर निर्माण हुँदा समेत उठेका किसानका आवाज दवाइएका छन् ।
पैनीको जग्गा मिचेर संरचना बनाएको विषयमा कुरा उठेको तर यत्ति नै जग्गा मिचिएको भन्ने एकिन भने नभएको मनिक चौरी नहर शाखा समितिका अध्यक्ष फुदन चौधरी बताउँछन् । सार्वजनिक जग्गाको संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै नहरको जग्गा मिचिएको विवाद आएको भएपनि आफुले वडा कार्यलयलाई प्राविधिक टोली बोलाएर नाप जाप गर्न सुझाएको चौधरीले बताए ।
कतिपय ठाउँमा दवाव भएपनि मानवीय नाताले विकल्प खोज्न सकिने भन्दै चौधरीले सकेसम्म सार्वजनिक जग्गा के कति मिचिएको हो भन्ने एकिन गरेर अघि बढ्नु पर्नेमा जोड दिए । पहिला पहिला धेरै किसान भएपनि अहिले भने उक्त पैनीबाट सिचाई हुने खेती योग्य जमिन कम भएको र ३÷४ जनामात्रै किसानहरु भएको कारण पनि उनिहरुको आवाज बुलन्द बन्न नसकेको फुदन चौधरीको भनाई छ ।
यता रामधुनी नगरपालिका वडा नम्बर ४ का पुर्व अध्यक्ष मनेश चौधरीले भने दम्भकै कारण पैनी मिचेर संरचना निर्माण गरिएको बताएका छन् । उनले केही बर्ष पहिला पनि उक्त पैनी मिच्दै ठाकुरले संचरना निर्माण पिलर गाडिसकेको अवस्थामा किसानले रोकेको स्मरण गराए ।
यता वडा अध्यक्ष कमल कार्कीले भने आफुसम्म पैनीको जग्गा मिचिएको भन्ने विषय औपचारिक रुपमा नआएको बताए । ‘औपचारिक रुपमा पैनीको जग्गा मिचिएको भन्ने जानकारी मलाई आएको छैन आएपनि त्यो नहरको जग्गा भएकाले हाम्रो त्यक्ति हात पनि रहँदैन । ’ कार्कीले सुनाए ।
यद्यपि नहरको केही जमिनलाई ओगट्दै घरको फाउण्डेसन तयार भएको भन्ने कुरा भने आफुले बुझेको वडा अध्यक्ष कार्कीको भनाई छ । उक्त घरले नहरको जग्गा मिचेर फाउण्डेसन तयार गरेको कुरा आफु जनप्रतिनिधि नरहँदैको भएको तर सार्वजनिक सम्पत्तीको संरक्षण गर्ने कुरामा भने आफु पनि प्रतिवद्ध रहेको कार्की बताउँछन् । तर सोही वडाका वडा सदस्य खेमनाथ पौडेलले भने सिंचारईका भिसी फुदन चौधरी सहितको टोली आएर उक्त पैनीको विवाद सल्टाइसकेको बताए । ठाकुरले ४ फिटको हाराहारी पैनी मिचेको बताउँदै वडा सदस्य पौडेलले विवाद समाधानको लागि सिंचाईका कर्मचारी साथै आफुहरुलाई पनि बोलाएको भएपनि आफु छलफलका लागि पुग्दा विवाद समाधान भइसकेको बताए । पौडेलका अनुसार घरको फाउण्डेसन भन्दा तलबाट पानीको निकास दिनेगरी घरधनीसँग सम्झौता गरिएको छ । पैनीको जग्गा मिचिँदा जनप्रतिनिधिको भन्दा पनि सिंचाईका भिसीको हात हुने भएकाले आफुहरुले केही बोल्न नमिल्ने पौडेल बताउँछन् ।
यता सरकारी सेवामा कार्यरत घर धनी ठाकुरले घर निर्माण गर्नुभन्दा पहिले बनाउनु पर्ने घर नक्साको प्रक्रिया समेत नगरेको नगरपालिका स्रोतको भनाई छ । ‘त्यहाँ पैनी मिचेर घर बनाउँदै गरेको भन्ने त सुनिएको छ तर त्यो घर नक्सा प्रक्रियामा आएको छैन’ रामधुनी नगरपालिकाको घर नक्सा शाखा स्रोतले बतायो । यस बिषयमा घर धनी ठाकुरसँगको पटक पटक सम्पर्क गर्न खोजेपनि प्रयास सफल हुन सकेन।