विर्तामोडः झापाको विर्तामोड नगरपालिका वडा नं १ का ४० वर्षीय निराकार पाण्डेको कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रवार भएको भीषण आगलागीमा मृत्यु भएको छ ।
तीन महिना अघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड भएका उनी घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए । शुक्रवार राति उनी बसेको होटलमा भीषण आगलागी भएको थियो ।
मृतकका बुवा एवम् विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेले होटलको १२ औं तलाको कोठामा बास बसेको बेला दुःखद् घटना भएको बताए । बेलैमा उद्धार नहुँदा छोराले मृत्युवरण गर्नुपरेको उनले गुनासो व्यक्त गरे ।
विहीवार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रवार विहान साढे चार बजेपछि छोरा निराकारसँग सम्पर्क विच्छेद भएको उनले जानकारी दिए ।
थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूताबासले मृतकको शबको तस्वीर नेपालस्थित मृतकका आफन्तलाई पठाएर शबको सनाखत गरिसकेको छ । हाल कम्बोडियामै रहेको शबलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूताबास मार्फत कुटनीतिक पहल भइरहेको मृतकका बुवा अग्नि पाण्डेले जानकारी दिए ।
पारिवारिक स्रोतका अनुसार गत कार्तिक २१ गते निराकार पाण्डे घुमफिरका लागि थाइल्यान्ड गएका थिए । उनी केही दिनमै नेपाल फर्किने तयारी थियो ।
पुस १५ गते विहान आगलागी भइरहेको होटलको १२ औं तलाको आफु बस्ने कोठाको झ्यालबाट बाँच्नका लागि हामफाल्दा निराकारको मृत्यु भएको थियो ।
आगलागी सुरु भइसकेपछि करीव चार घण्टाको अवधिमा उहाँले आफु आगलागीको विषम परिस्थितिमा फँसेको भन्दै काठमाडौंस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२ औं तलामाथिको झ्यालबाट हाम फाल्नु पर्ने अप्ठेरो अवस्था आइसकेको जानकारी दिएका थिए । परिवारले उनीलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उनको भाइ निश्चल पाण्डेले बताए ।
घटनामा उद्धारको प्रयास नभएपछि बाँच्नका लागि हामफाल्दा निराकारको ज्यान गएको पाण्डेले बताए । घटना भएका बेला मृतकका बुबा अग्नि पाण्डे र साइलो भाइ झापाको विर्तामोडस्थित निवासमा थिए भने आमा र कान्छो भाइ काठमाडौंस्थित निवासमा थिए ।
“बास बसेको होटलमा आगलागी भयो, धुँवा फैलिदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो,” मृतकका बुवा अग्नि पाण्डेले शुक्रवार रातिको अवस्था बारे जानकारी दिदै भने–“राति करीव चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उद्धार गरेर बचाउन आउँछन्, धैर्य गर छोरा भनेर ढाडस दिइरह्यौं । तर साढे चार बजेदेखि फोन सम्पर्क टुट्यो ।”
कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूताबासका अधिकारीहरुले आगलागीबाट बाँच्नका लागि होटलको १२ तलाबाट हामफाल्दा चोटपटक लागेर मृत्यु भएको जानकारी दिएको उनले बताए ।
मंगलबारसम्ममा शबलाई नेपाल ल्याउनका लागि कुटनीतिक माध्यमबाट पहल भइरहेको समेत उनले जानकारी दिए ।
शोकाकूल बन्यो विर्तामोड
युवा व्यवासायी निराकार पाण्डेको कम्बोडियामा आगलागीमा परी मृत्यु भएको खबर फैलिएपछि विर्तामोड शोकाकूल बनेको छ । स्थानीयबासी मृतकको घरमा भेला भएका छन् ।
झापामा रहेका मृतकका बुवा अग्नि पाण्डे घटना सुनेलगत्तै काठमाडौं गएका छन् । काठमाडौंमा मृतककी आमा र अरु भाइहरु रहेका छन् ।
झापाको घरमा रहेका मृतकका साइला भाइ निश्चल पाण्डेले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपतका बेला उद्धारको भरपर्दो कुनै प्रबन्ध नभएकोमा गहिरो खेद व्यक्त गरे । “चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उद्धार पर्खिएर बस्नुभयो, कुनै आश बाँकी नरहेपछि बाँच्नका लागि १२ औं तलाबाट हामफाल्नु पर्यो,” उनले भने–“बेलैमा उद्धार हुन सकेको भए दाजु बाँच्नु हुन्थ्यो ।”
संगीतकार शिवशंकर थापाले अकल्पनीय घटनाले विर्तामोडबासी स्तब्ध भएको बताए । मृतक पाण्डे संगीतकार थापाका छिमेकी हुन् । “सानैदेखि असल र मिहेनती स्वाभावको थिए निराकार भाइ,” संगीतकार थापाले भने–“भरपर्दो उद्धारको व्यवस्था समेत देखिएन, मृतकले झ्यालमा बसेर बोलेको भिडियोले संसारभरिका नेपालीलाई स्तब्ध बनाएको छ ।’’–लोकतन्त्रपोष्टबाट