धरानः धरान उपमहानगरका मेयर र कार्यपालिका सदस्यको चिसिएको सम्बन्धको सुधारको आशा लिएर (आज) सोमबार कार्यपालिका बैठक बस्ने भएको छ । 

वडा अध्यक्षहरु मेयरले माफि नमागे सम्म बैठक चल्न नदिने अगाडमा भएपछि बारम्बार स्थगित हुँदै असफल भएको कार्यपालिका बैठक  सोमबारलाई बोलाइएको छ । 

गत असोज १३ गते भाँडिएको धरानको कार्यपालिका बैठक त्यसयता बस्न बसेको छैन । एजेण्डामाथि आफ्नो धारणा राखिरहेका कार्यपालिका सदस्य अनुप देवानलाई मेयर हर्क साम्पाङले बाहिर जानु भनेर अपमान गरेको भन्दै बैठक विथोलिएको थियो । यो घटना पछि मेयर साम्पाङ र कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुबीच सम्बन्ध चिसिएको छ भने कार्यपालिका बैठक बस्न सकेको छैन । मेयर साम्पाङले माफी माग्नुपर्ने वा अभिव्यक्ति फिर्ता लिनुपर्ने अडानमा छन्, कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरु । यता, मेयर साम्पाङ पनि आफुले गल्ती नगरेको कारण माफी नमाग्ने अडानमा छन् । 

धरानका ६ राजनितिक दलले प्रेस विज्ञप्ती निकालेरै मेयर साम्पाङ्गलाई अभिभावकिय भुमिका निर्वाह गर्न भनेका छन् भने वडा अध्यक्ष र मेयरले छुट्टा छुट्टै पत्रकार सम्मेलन गरेर आफ्नो आफ्नो अडान दोहोर्याएका छन् । 

 दुवै पक्षमा अविश्वास गहिरिदै जादा मेयर साम्पाङले सोमबार पुनः दिउँसो २ बजेको लागि कार्यपालिका बैठक बोलाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट कार्यपालिका  बैठक बोलाएको जानकारी दिएका थिए । 

 उक्त कार्यक्रममा मेयर साम्पाङले सोमबार २ बजे बैठक बोलाएको जानकारी दिदै सम्पुर्ण वडाअध्यक्षहरुलाई उपस्थित भएर निकास दिन आह्वान पनि गरेका थिए । ‘हामीले राजनीतिक इगो, राजनीतिक आग्रह, पुर्वाग्रह राख्नुभन्दा पनि धराने जनताको भविष्य, सुशासन र धराने जनताको सेवा सुविधा, दिर्घकालिन विकासको लागि हामी सबै जना उतिकै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ भन्ने आग्रह गर्न चाहन्छु,’ मेयरले आह्वान गर्दै भनेका छन् ।